नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण कार्यमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर , ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी , घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको छ ।

नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै नेपालगञ्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिईएको हो । साथै उनीहरूले प्रयोग गर्ने विद्युतीय उपकरण पनि बरामद गरी अनुसन्धान थालिएको आयोगले जनाएको छ ।