नेपालगन्ज – कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः सुरु भएको छ । विगत दुई वर्षदेखि अवरुद्ध बाँकेको बानिया भार खण्डमा आज स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपछि आयोजना विस्तारको काम पुनः सुरु भएको हो ।
कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारसँगै स्थानीय राजनीतिक दल, सरोकारवाला र सुरक्षा निकाय बिच समन्वय गरेपछि आयोजनाका कामदार तथा कर्मचारीले प्रसारण लाइन विस्तारको काम पुनः सुरु भएको बाँकेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयो । यसअघि बानिया भारका स्थानीयले पटक–पटक सरकारले तोकेभन्दा बढी मुआब्जाको माग गर्दै अवरोध गरेपछि विद्युत् प्रसारण लाइन विस्तारको काम अवरोध भएको थियो ।
स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था सुनिश्चित गरेपछि प्रसारणलाई विस्तारको काम अघि बढेको हो । अब विस्तारको काम सुरु सँगै आउँदो साउन महिना भित्रै सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ ।
अहिले सञ्चालनमा रहेको ३३ केभी विद्युत् प्रसारण लाइनले सुर्खेतसहित सिङ्गो कर्णालीको माग र आवश्यकता थेग्न सकिरहेको छैन । त्यसमाथि पुराना उपकरण र सीमित संरचनामार्फत सेवा दिँदै आएको विद्युत् प्रणालीले बारम्बारको अवरोध र अस्थिरता खेप्नुपरिरहेको छ । कोहलपुरबाट सुर्खेतसम्म तानिएको ३३ केभी क्षमताको प्रसारण लाइन ‘ओभर लोडेड’ छ ।
प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेकाले सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैँ जसो विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।

१३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत्का कारण कर्णालीका नागरिकले भोग्नुपरेको समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएपछि बाँकेको बजैनाथ गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बा कुनासँगै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको विवाद टुङिएको आयोजनाको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण, कर्णाली प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरू, उद्योगी व्यवसायी र नागरिक समाजको दबाबले विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः सुरु भएको आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनु भयो । उहाँले कर्णालीकै आर्थिक विकासको मेरुदण्डका रूपमा हेरिएको यो आयोजनाले पूर्णता पाए सुर्खेतलाई ऊर्जा आपूर्तिमा आत्मनिर्भर बनाउन मात्र नभई समग्र आर्थिक विकासलाई गति दिन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँका अनुसार करिब ७० करोड रुपैयाँको यो आयोजनामा १६२ वटा ठुला टावरहरू मध्य १५३ वटा निर्माण सकेका छन् ।
आयोजनाले विद्युत् प्रसारण लाइन विस्तारको काम २ वर्षभित्रै सक्ने लक्ष्य लिए पनि विभिन्न स्वार्थ समूहले विभिन्न बाधा, व्यवधान खडा गरेपछि चार वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।
आयोजनामा ढिलाइ हुँदा विकास निर्माणका कामसँगै औद्योगिक उत्पादन, सञ्चारमाध्यम, स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र नागरिकको दैनिकमा प्रत्यक्ष असर पुगिरहेको छ ।
प्रसारण लाइन बनेमा समग्र कर्णालीका जनताले पाउने विद्युत् सेवाको गुणस्तरमा सुधार हुनुका साथै विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न ठुलो सहयोग पुग्नेछ ।