ऋणकाे भारीले ‘चुर्लुम्म डुबे’ कहलिएका ब्यापारी


 

बाँके । शहरमा नाम कहलिएका ब्यापारी । सफलताको कथा सुनाउँदा धेरैले उनीहरुकै सुनाउने ! सानाे लगानी बढाउँदै करोडौंकाे काराेवारसम्म पुगेका ।

तर पछिल्लो आर्थिक संकटकाे भुमरीमा परेपछि यी र यस्तै ठुल्ठुला ब्यापारीको भागाभाग भएको छ । कतिकाे जेलकाे बास छ कतिलाई प्रहरीले खाेजिरहेकाे छ । घरवास नै उठिबास लाएर गुमनाम बनेकाहरुको संख्या उस्तै छ । ब्यापारबाटै नाम,दाम,शक्ति आर्जन गरेर बेग्लै उचाईमा पुगेका एकदुई जना होइन ठूलो संख्याका ब्यापारीकाे हरिबिजाेग भएको बताउँछन् अटाेमाेवाईल ब्यवसायी संघ बाँकेका अध्यक्ष नरेन्द्र ओली ।

‘ठुल्ठुला ब्यापारी साथीहरू टाट पल्टिएका छन् । न घर न घाटकाे अवस्थामा पुगेका छन् ।’ ओली भन्छन्,-‘ हरदिन आज कुन साथीकाे घरजग्गा लिलाम भयाे, काे साथी शहर छाडेर हिड्याे भन्ने खबर सुनेरै दिन बित्छ ।’ आर्थिक संकटले अटाेमाेवाईल क्षेत्र झनै आक्रान्त बनेकाे बताउँदै उहाँ भन्नुहुन्छ,-‘ नेपालगन्जदेखि काेहलपुर सडकखण्डमा पुगेर त्यहाँका शाेरुममा बसेर कुराकानी गर्नुस् समस्या कस्ताे छ भन्ने बुझ्नुहुन्छ ।’ कति शाेरुम बन्द भइसकेकाे र कति लिलामीमा चढिसकेकाे ओली बताउँछन् ।

हस्पिटालिटी क्षेत्रकाे समस्या त झन् बिकराल छन् । सुर्खेतराेडस्थित एक चार तारे हाेटलका संचालकलाई चेकबाउन्स मुद्दामा प्रहरीले अदालतले पक्राउ पुर्जी जारि गरेकाे आधार खाेजिरहेकाे छ । शहरमै नाम कमाएका ती संचालक आर्थिक संकटमा परेकाे उहिल्यै हाे । बाँकेमा केही बर्षअघि एकसाथ तीन वटा ‘फनपार्क’ संचालनमा आए । कति बन्द भइसकेका छन् भने अन्य ऋणकाे भारीले थिचिएर संचालक हायलकायल छन् । ‘ मेराे त बन्द अवस्थामा झैं छ । स्टाफ पनि घर पठाईदिए । ऋण तिर्न नसकेर हैरान छु ।’ – ती संचालकले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,-‘ कहाँ कसरी मिलाउने हाे ? साेच्न सकेकाे छैन ।’

निर्माण व्यवसायीका समस्या त भनिसाध्य छैन । कालाे सुचिमा परेका र ऋणकाे भारिले थिचिएर घरबार बिहिन भएकाकाे संख्या अझ धेरै छ । एकजना ईट्टा ब्यवसायी भन्दै थिए,- ‘ म राति मात्रै घर आउँछु, दिनभर बाहिर हुन्छ । बैंकले हैरान पार्छ । तर यसरी कति दिन लुक्ने हाे र ? एक दिन सबै लिलाम गर्ने त हाेला !’

नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली शहरमा कुनै बेला ‘आइडल’का रुप चिनिएका ब्यापारी ‘डुबे’काे देख्दा आर्थिक क्षेत्रमा कति गहिराे संकट छ भन्ने प्रमाणित भएको बताउँछन् । उनी भन्छन्,-‘बाहिर देखिएको संख्या त थाेरै छ । तर भित्रभित्र संकटबाट पार नपाइरहेका ब्यापारी साथीहरूकाे छटपटाहट भुसकाे आगो झै फैलिएको छ ।’

काेभिड-१९ पछि उत्पन्न आर्थिक संकटले ब्यापारीलाई समस्यामा पारेकाे बताउँछन् अटाे माेवाईल ब्यसायी संघ बाँकेका अध्यक्ष ओली । बैंककाे ब्याज बढेकाे,आर्थिक गतिविधि ठप्प रहेकाले यस्ताे परिस्थिति बनेकाे उनकाे भनाइ छ । धेरै ब्यापारीले ऋणकाे पैसा जग्गामा लगाएको तर घरजग्गा काराेवारमा मन्दी आएपछि डुबेकाे पाइएको छ ।

प्रकाशित मितिः     २८ जेष्ठ २०८२, बुधबार ०९:१०  |