प्राधिकरणका सिइओले अनुगमन गरेपछि झन् बिग्रियाे नेपालगन्जकाे बिद्युत सेवा


बाँके । असार दोस्रो हप्ता विद्युतको माग र आपुर्तिको अवस्था सहित गुणस्तरीय सेवा प्रवाहकाे ब्यवस्थापन गर्न उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्च व्यवस्थापनको टोली नेपालगन्ज आयो ।

उच्चस्तरीय टाेलीले  लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज अन्तरगतका वितरण केन्द्रहरुसँग सघन छलफल गर्‍यो । उक्त टाेलीले कर्णाली क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि निर्माणाधीन १३२ केभी प्रशारण लाइन विस्तारका क्षेत्रमा परेका टावरहरुको जग्गा अधिकरण सम्वन्धी विवाद समाधानका लागि स्थलगत अवलोकन गरेकाे छ ।

साथै सरोकारवाला पक्षसँग समाधानका थप प्रयासका लागि आवश्यक सहजीकरण गर्न आइपुगेको उच्चस्तरीय उक्त टोलीले मंगलवार बाँके, बर्दिया दाङ लगायत नेपालगन्ज डिभिजन अन्तरगतका सबै कार्यालयहरुको कार्यप्रगतिको समिक्षा गरेकाे थियाे ।

उक्त उच्च स्तरीय टोलीले नेपालगन्जको विद्युत आपुर्तिमा थप सुधार ल्याउन भएका प्रयास र सुधारका अन्य विकल्पबारे सुक्ष्म छलफलका लागि नेपालगन्ज वितरण केन्द्रको पनि निरिक्षण गरेको थियो।

उक्त टाेली फर्काएको धेरै दिन बित्याे तर नेपालगन्जकाे बिद्युत सुध्रिनुकाे साटाे झन् बिग्रिएको छ । पटक-पटक बिद्युत जाने भइरहदा उद्योग,कलकारखाना संचालनमा कठिनाई भइरहेकाे छ भने सर्वासाधारण आजित छन् । ‘दिनमा पचासौं पटक जान्छ । अहिले त अलिअलि पानी पनि परेकाे छ त्यहि पनि किन लाईन काट्ने काम भएको छ ? बुझ्न सकिएको छैन ।’- नेपालगन्ज-१२ का रामबहादुर पुनकाे दुखेसाे छ ।
नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो ।
कहीँकतै मर्मत गर्नुपरे नेपालगञ्ज वितरण केन्द्रले विद्युत् अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । “विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन”, नेपालगञ्ज–१२ की सन्ध्या पाेखरेलले भनिन्, “गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।” दिनभर चर्को गर्मी सहने नेपालगञ्जवासी रातिको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

 “दिनभर गर्मीमा काम गर्छौ, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन”, अटोरिक्सा चालक दिलकुमार परियारले भने । एक घण्टामा दुई/तीन पटकसम्म विद्युत् काटिने गरेको प्रीय थारुले बताए । “कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो”, उनले भने । पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसेनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

“चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ”, नेपालगञ्ज–१८ का श्रीराम यादवले भने । लोडसेडिङको विकल्पमा जेनेरेटर र इन्भटर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत् अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो ।

प्रकाशित मितिः     २१ असार २०८२, शनिबार ०७:१०  |