नारायण वाग्लेकाे ‘तनहुँ फार्म’


 
  • नारायण श्रेष्ठ

जाँदा जाँदै घाँसीकुवा कट्यो, भानुभक्तको सालिक पार भैहाल्यो। ‘खड्का खाजाघर’की साहुनीलाई पनि थाहा रैन’छ कता हो ‘तनहुँ फार्म’। “फराक चौरतिर हो कि, त्यो खोला तरेर जानुस पुगिन्छ होला” मात्रै भनिन्। हामी आँवुखैरेनीपट्टि नै फर्कियौं र अलिकता ओरालो झरेर सानो कलभर्टमा खोला तर्‍यौं।

कतै खाल्डाखुल्डी, कतै अलकत्रा ओछ्याएको बाटो अलि पर पुग्दा एकजना वृद्द काँधे झोला बोकेर चर्को घाममा फटाफट लम्किंदै गरेको भेटिए। तनहुँ फार्म कता होला भनेर सोधेको। ‘गाई फार्म?’ उल्टो हामीलाई नै सोधे। अलमलमै अर्का पुरुषलाई सोधेको; ‘कुखुरा फार्म त माथि छ’, पाखातिरको टहरो औंल्याए।

केहीबेरपछि खोलामाथिको पुलमा फेरी अलमलामा पर्‍यौं। झ्यालको सिसा रोल गरेर तल झारेको देखेपछि एकजना महिला जिज्ञासु हुँदै आईन। हाम्रो प्रश्न भुईं झर्न नपाउँदै दौडेर रोकिराखेको बाईकको मान्छेसंग कानेखुसी गरिन। बाईकवाला हेल्मेट खोल्दै आयो। “वडा कार्यालयको बगलै छ।” उसले बाटो देखाईदियो।

हाम्रो समयको संभवत सबैभन्दा चर्चित र मानक लेखकको फार्म पुग्दा घरको ढोका बन्द थियो।
“सर काठमाण्डौ जानुभा’छ।” सहयोगी भाई सुरेन्द्र थापा ढोका खोल्न आईपुगे, र अर्ग्यानिक खेती अभ्यासका वारेमा जानकारी दिए। गाई, बाख्रा र हाँस, कुखुरा देखाए; खेतमा लगाईएको बालीहरुका बारेमा बताए।
लेखक वाग्ले भेटिएका भए सोध्ने थिएं – शव्दको खेती या अर्ग्यानिक खेती, कुन रसिलो?

असारको चर्को घामलाई एकैछिनमा बादलले छोप्यो र गड्याङ गुडुङ् गर्न थाल्यो। सुरेन्द्र भाई आँगनको विस्कुन उठाउन थाले। हामी चैं गाग्राको चीसो पानी पिएर फर्कियौं।

श्रेष्ठको फेसबुकवालबाट साभार

प्रकाशित मितिः     २१ असार २०८२, शनिबार १६:३९  |