
नेपाली राजनीतिमा समय–समयमा विभिन्न आन्दोलनहरू हुँदै आएका छन्। ती आन्दोलनहरूले कहिले व्यवस्था परिवर्तन गरेका छन्, कहिले नेतृत्व परिवर्तन गरेका छन् ।
त कहिले जनतामा नयाँ आशा जगाएका छन्। तर ०८२ सालमा देखिएको तथाकथित “जेन्जी आन्दोलन” लाई म व्यक्तिगत रूपमा परिवर्तनको आन्दोलन भनेर स्वीकार गर्न सक्दिनँ। मेरो बुझाइ र मूल्यांकन अनुसार यो आन्दोलन मूलतः परिवर्तनको भन्दा पनि स्वार्थ, प्रभाव र बाह्य संकेतले प्रेरित भएको आन्दोलन जस्तो लाग्छ।
यसको अर्थ यो आन्दोलनले केही पनि गरेन भन्ने होइन। कुनै पनि आन्दोलनले समाजमा केही न केही प्रभाव अवश्य छोड्छ। ०८२ को आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ–नयाँ अनुहारहरू देखा परे, केही नयाँ व्यक्तिहरू संसदसम्म पुगे, र केही व्यक्तिहरू आज सत्ताको केन्द्रसम्म पनि पुगेका छन्। समयले यी परिवर्तनहरूलाई आफ्नै तरिकाले मूल्यांकन गर्नेछ।
तर आन्दोलनपछि आएको चुनावी माहोल र सरकारको गतिविधि हेर्दा, मुख्य दलहरू एक प्रकारको भुलभुलैयामा परेको जस्तो देखियो। विशेषगरी केही नेताहरूका गतिविधिले राजनीति झन् जटिल बनाएको महसुस भयो। त्यो समयमा मैले केही साथीहरूलाई भनेको थिएँ— “चुनाव त हुन्छ, तर परिणाम ठूला दलहरूका लागि सहज हुने छैन।” आज हेर्दा त्यो आकलन धेरै हदसम्म सत्य साबित भएको जस्तो लाग्छ।
समय बित्दै गयो, चुनाव आयो, र हाम्रो उम्मेदवारी पनि तय भयो। तर उम्मेदवार छनोटको प्रक्रिया, विशेषगरी समानुपातिक सूचीको चयन, पार्टीको हितअनुसार भएको देखिएन। एउटै व्यक्तिलाई पटक–पटक कहिले समानुपातिक त कहिले प्रत्यक्ष टिकट दिने अभ्यासले पार्टीभित्र असन्तुष्टि बढायो। यस्तो निर्णयले कार्यकर्ताको मनोबल कमजोर पार्नु स्वाभाविक थियो।
चुनाव नजिकिँदै जाँदा हामी घरदैलो अभियानमा निस्कियौँ। तर विडम्बना, जनताबीच माहोल बन्नुको सट्टा झन् बिग्रँदै गयो। नेताहरूका भाषण, चुनावी नाराहरू, र प्रतिद्वन्द्वी उम्मेदवारप्रति व्यक्त गरिएको घृणात्मक शैलीले जनतालाई आकर्षित गर्न सकेन। बरु जनतामा निराशा र असन्तुष्टि बढ्दै गयो, र हामी क्रमशः कमजोर हुँदै गयौँ।

आजको पुस्तालाई हेर्दा एउटा नयाँ वास्तविकता स्पष्ट देखिन्छ। अहिलेको युवा पुस्ताले मदन भण्डारीको जनताको बहुदलीय जनवाद वा मनमोहन अधिकारीको राजनीतिक विरासत, यहाँसम्म कि बी.पी. कोइरालाको विचारधारा पनि पहिलेको पुस्ताले जस्तो गहिरो रूपमा चिनेको छैन। आजको पुस्ता सामाजिक सञ्जालबाट बनेको विचार र धारणा बोकेर अघि बढिरहेको छ।
यसले एउटा कठोर सत्य देखाउँछ— सामाजिक सञ्जालको प्रभावमा बनेको धारणा केवल पुराना राजनीतिक विचारले मात्र परिवर्तन गर्न गाह्रो रहेछ।
त्यसैले ०८२ को आन्दोलन र त्यसपछिको चुनावलाई फर्केर हेर्दा मलाई यस्तो लाग्छ— त्यो समय हाम्रो मात्र थिएन। त्यो समय केही सीमित शक्तिहरूको आन्दोलन जस्तै थियो, र चुनाव पनि त्यही परिवेशको प्रतिफल जस्तो देखियो।
अन्ततः राजनीति भनेको समयसँगै मूल्यांकन हुने प्रक्रिया हो। आज जे देखिन्छ, भोलि त्यसलाई इतिहासले अझ स्पष्ट रूपमा व्याख्या गर्नेछ। समय नै सबैभन्दा ठूलो निर्णायक हाे । आज बनिरहेकाे परिस्थितिलाई सही ठहर गरेकाले भाेलि गल्ती महसुस गर्न नपराेस् शुभकामना !

