समृद्ध बाँकेका लागि निजीक्षेत्रको भूमिका


 

२०७८ को माघमा नेपालगन्ज उद्योग वाणिज्य संघले –समृद्ध बाँके निर्माणको आधार खोज्दै बिज्ञहरुसंग बृहद अन्तरक्रिया गर्‍यो जतिबेला म महासचिव थिए । उक्त छलफलको निष्कर्ष थियो–’नेपालगन्ज अहिले पनि आर्थिक, शैक्षिक र स्वास्थ्यक्षेत्रको हब हो । यसलाई अझ उचाईमा पुर्याउन निजीक्षेत्रको लगानी र राज्यकातर्फबाट पूर्वाधार निर्माणमा जोड दिन सक्नुपर्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघले सम्भवत पहिलो पटक यसरी बिज्ञहरुसंग बसेर समृद्ध जिल्ला बनाउनका लागि सार्थक बहसको थालनी गरेको थियो । संघको भिन्न उद्देश्य र सीमाहरु छन् । ब्यवसायीक हकहित हाम्रो सीमा भएपनि सामाजिक उत्तरदायित्वको सवालमा हामी पछी पर्नुहुँदैन । निजीक्षेत्रको अगुवा संगठन हुनाका नाताले जिल्लाको उन्नती र प्रगतिका लागि गम्भीर बहसको थालनी गर्दै राज्यका निती निर्माताको ध्यानार्कषण गराउने दायित्व बिर्सिनु भएन ।

संघीयताको कार्यान्वयन पछि नेपालगन्ज राजनीतिक र प्रशासनिक रुपमा कमजोर बनेको सबैले महसुस गरेकै हो । यो राज्यका निती निर्माताहरुले नेपालगन्जलाई हेर्ने गलत दृष्टिकोणका कारण भए पनि आर्थिक, स्वास्थ्य र शिक्षा क्षेत्रको केन्द्र बन्न भने कसैले रोकेको छैन । यहाँ रहेका कैयौं सम्भावनाहरुलाई हामीले अब खोजि गर्नुपर्छ । निजीक्षेत्रले अभियानकै रुपमा भए पनि सरोकारवाला निकायलाई जिल्लाको विकासको सम्भावनालाई उजागर गर्न दवाव दिनै पर्ने बेला आएको छ । त्यस दिशातर्फ अगाडी बढ्नका निम्ति हामीले समृद्ध बाँके निर्माणको आधार खोजेका हौं । आगामी दिनमा ती आधारहरुलाई हामी सरोकारवाला निकायसम्म पुर्याएर उनीहरुको आँखा खोल्ने प्रयत्न गर्ने छौं ।

नेपालगन्ज देशकै पुरानो शहर मध्य एक हो । पश्चिम नेपालको लाइफलाइनका रुपमा रहेको शहर भएका कारण यसको महत्व अन्य शहर भन्दा भिन्न छ । आर्थिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रको हबका रुपमा अहिले पनि उत्तिकै परिचित छ । तर संघीयता कार्यान्वयनपछि नेपालगन्ज राजधानी बन्न सकेन । जसको असर नेपालगन्जको प्रशासनिक र राजनीतिक शक्तिमा पर्‍यो । त्यसले यहाँका सबै क्षेत्रलाई चिन्तित बनायो नै ! तर आर्थिक क्षेत्रमा नेपालगन्जको उत्तिकै सम्भावना छ ।

संघले यिनै सम्भावनाको खोजि गर्न बिज्ञ एवं सरोकारवाला निकायका अगुवाहरुसंग प्राज्ञिक बहस थालेको थियाे । यस्ता बहस र छलफलले निकाल्ने अन्तिम निष्कर्ष नै समृद्ध बाँकेको आधारका रुपमा रहने छ भने नेपालगन्ज उद्योग वाणिज्य संघले ती आधार कार्यान्वयनका लागि सम्बन्धित निती निर्माताहरुको ध्यानार्कण गराउने छ । यस्तो अभियानमा सम्पूर्ण बाँकेबासीको साथ र समर्थन हुने आशा र अपेक्षा गरेका छौं ।

पश्चिमको व्यवसायिक केन्द्र बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमध्ये अहिले पनि आर्थिक, बाणिज्य, कृषि, पर्यटकीय क्षेत्र, शैक्षिक र स्वास्थ्य केन्द्रका कारण अग्रणी नै छ । संघीयतापछि प्रदेश राजधानी वा प्रशासनीक केन्द्र जहाँसुकै स्थापना गरिएको भए पनि विगतको औद्योगिक र व्यापारिक गतिविधिका कारण यसले आफ्नो विशाल विरासत कायमै राखेको छ । यहाँ भौतिक पूर्वाधारको आधार बनिसकेको छ । जसलाई समय सापेक्ष स्तरोन्नतीको खाँचो मात्र छ ।

बाँके पहिलेदेखि नै औद्योगिक क्षेत्रका रुपमा परिचित छ । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ ।

एकवटा औद्योगिक क्षेत्र निर्माणाधीन अवस्थामा छ । त्यसलाई जतिसक्यो चाँडो निर्माण गरिसक्नुपर्ने छ । संघले निरन्तररुपमा औद्योगिक क्षेत्र निर्माणका लागि आग्रह गरिरहेको छ, तर पछिल्लो वर्षको विनियोजित बजेट रकमान्तणका लागि प्रयासहरु गरेको सुन्दा यहाँहरुका उद्योगीहरु चिन्तित हुनु परेको छ । यो विषयलाई जोरदार रुपमा उठान गरी नौवस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गरी उत्पादनमा प्राथमिकिकरण गर्दै उद्योग स्थापना तर्फ अग्रसर हुनु पर्छ । यो हाम्रो प्रमुख एजेन्डा मध्येको एक हो । बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो यसलाई निजीक्षेत्रले र सरकारले प्राथमकितामा राखी ब्रान्डिङ्ग गर्न जरुरी छ, तर यसको उचित प्रचार प्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिरले पर्यटकलाई आकर्षित गर्न सक्छ । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा पर्यो । होटल व्यवसाय त धरासायी हुने अवस्थामा नै पुग्यो ।

संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुने भएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज–दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ । नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यान्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । नेपालगंज विमान स्थलको स्तरउन्नती गर्न मजबुत राजनितिक नेतृत्वको खाँचो छ ।

राष्ट्रिय राजनितिमा प्रभाव पर्ने राजनितिक नेतृत्वको अभावको कारण एक पछि अर्को गर्दै यहाँका महत्वपूर्ण योजनाहरु(नेपालगंज विमान स्थल स्तर उन्नती गरी अन्र्तराष्ट्रिय उडान गर्ने, नौवस्ता औद्योगिक क्षेत्र निर्माण गरी संचालनमा ल्याउने, कृषिको आधुनिकरण गरी कृषि उत्पादनमा बृद्धि गर्ने, बाँके राष्ट्रिय निकुञ्जलाई ब्रान्डिङ्ग गर्ने) ओझेल पर्दै छन । बाँकेले एउटा त्यस्तो नेतृत्व खोजिरहेकोे छ जहाँ उद्योग, पर्यटन र कृषिलाई प्राथमकितामा राखी बाँके समृद्धिको योजना बनाओस ।

कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमका २४ जिल्लाको उच्च शिक्षा अध्ययन गर्ने थलो बाँके थियो । नेपालगन्जमा रहेका त्रिभुवन विश्वविद्यालयको दुई आंगिक क्यापस (महेन्द्र बहुमुखी क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस)ले शिक्षामा ठूलो योगदान गरे । त्यसपछि शैक्षिक क्षेत्र विस्तार हुने क्रममा भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज मेडिकल कलेज लगायत अन्य शैक्षिक र प्राविधिक धारका शिक्षालयहरुले योगदान गरिरहेका छन् । बाँकेमा विशेष प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्नुपर्छ । यो विश्वविद्यालयले विदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ

बाहिरी जिल्लाबाट बाँके आउनु पर्ने अर्को कारण हो, स्वास्थ्योपचार । स्वास्थ्य सेवामा विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको भेरी अस्पताललाई विशिष्ठिकृत अस्पतालसँगै शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ । चितवन पश्चिममा एक मात्र क्यान्सर उपचारका लागि विशिष्ठिकृत अस्पतालको रुपमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई सम्पूर्ण सेवासहित सञ्चालन गर्नुपर्छ । उद्योेग, वाणिज्य, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकास नै बाँके समृद्धिको आधार हो । यी क्षेत्रको विकासमा व्यक्ति, संस्था, समाज र राज्यको उत्तरदायी भूमिका प्रमुख हुन्छ । व्यक्ति वा संस्थाले लगानीको वातावरण पाउनु पर्छ । त्यसका लागि राज्यले नीति, नियम र कानुनी व्यवस्था लगानीमैत्री वातावरण सृजना गर्नु पर्छ ।

ओली नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष  हुनुहुन्छ 

प्रकाशित मितिः     २८ फाल्गुन २०८२, बिहीबार २०:५१  |