ट्रेडमार्क चोरी गर्ने ११ कम्पनीलाई कारबाही गर्ने तयारी (सूचीसहित)


काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने ११ वटा नेपाली कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ । कोकाकाेला  जुम, ह्युगो बोसलगायतका कम्पनीहरुकाे लाेगाे र  लेभल चाेरी गरेकाे भन्दै बहुर्राष्ट्रिय कम्पनीले विभागमा उजुरी दिएकाे थियो ।

विभागले आज सूचना जारी गर्दै नेपाली कम्पनीहरुलाई ७ दिनको स्पष्टीकरण सोधेको छ । विभिन्न उद्योग र कम्पनीहरुकाविरुद्ध विभिन्न मितिमा उजुरीहरु दर्ता भएको थियो । आ–आफ्नो लिखित प्रतिक्रिया पेस गर्न विभागले उजुरी परेका उद्योग र कम्पनीहरुका नाम, ठेगानामा पत्र काटेको थियो ।

उजुरीको प्रतिलिपि समेत राखी ७ दिने म्याद र सूचना पठाइएकोमा हालसम्म पनि कुनै लिखित प्रतिक्रिया पेस नगरेको र म्याद तामेली प्रतिवेदन समेत प्राप्त हुन नआएको विभागको भनाइ छ । यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र विभागभित्र आ-आफ्नो सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न निर्देशन दिएको छ ।

सूचना तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा कानुन बमोजिम हुने विभागको प्रस्टीकरण दिएको छ । विभागको सूचनाअनसार अमेरिकाको टर्नर इन्टरटेनमेन्ट कम्पनीले नौलो फुड्स इन्डस्ट्रिज चितवनविरुद्ध र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्टस् विरुद्ध उजुरी दिएको थियो ।

अमेरिकास्थित इनर्जी ब्रान्ड इंकले रुपन्देहीको अक्वा नेपाल बिस्लेरी विरुद्ध र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेज विरुद्ध जुरी परेको थियो । पर्साको टर्बो ट्रेक विरुद्ध अमेरिकाको ट्रेक बाइसाइकल कर्पोरेसनले ट्रेडमार्क दूरुपयोगसम्बन्धी उजुरी दिएको थियो ।

अमेरिकाको द कोकाकोला कम्पनीले सुनसरीको दुहवीस्थित प्रिमियर अर्गान्स प्राइभेट लिमिटेडविरुद्ध एकर सुनसरीस्थित पाथिभरा फुड एन्ड प्याकेजिङ्ग विरुद्ध दुईवटा उजुरी दर्ता गराएको थियो ।

यसैगरी जर्मनीको ह्युगो बोस ट्रेडमार्क म्यानेजमेन्टले झापाको इम्यानर फेसनवेयर इन्डस्ट्रिजविरुद्ध, अमेरिकाको जुम कम्युनिकेसन इंकले झापाकै कभिस मार्केटिङ्ग प्राइभेटविरुद्ध र न्युजिल्याण्डको काठमाडौं लिमिटेडले काठमाडौंको ओम मंगलकाली टेक्सटाइल उद्योगविरुद्ध ट्रेडमार्क दुरुपयोगसम्बन्धी उजुरी दिएको विभागले जनाएको छ ।

बहुर्राष्ट्रिय कम्पनीकै ब्राण्ड चोरेर नक्कली उत्पादन बेचेको भन्दै उनीहरुले उजुरी दिएको थियो । विभागले पटकपटक सूचना जारी गर्दा पनि कम्पनीहरुले अटेरी गर्दै आइरहेको थियो ।

प्रकाशित मितिः     ५ चैत्र २०८२, बिहीबार ०७:४६  |