
आदरणीय उद्योगी तथा व्यवसायी महानुभावहरू,
हामी उद्योगी–व्यवसायीहरू आज इतिहासको एक महत्वपूर्ण मोडमा उभिएका छौँ—यो चुनौती पनि हो र अवसर पनि। हामीमाथि लागिरहेका विभिन्न आरोपहरूलाई असत्य सावित गर्ने, विश्वास पुनःस्थापित गर्ने र बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ।
हामीले सधैं संस्थागत रूपमा उठाउँदै आएको कुरा स्पष्ट छ—वैध व्यापारको प्रवर्द्धन र अवैध व्यापारको निरुत्साहन। यसै नीतिअनुसार हामीले समय–समयमा आफ्ना धारणा, अभिव्यक्ति र आधिकारिक वक्तव्यहरू प्रस्तुत गर्दै आएका छौँ। तर, केही उपभोक्ता गुनासाहरू सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा देखिँदै आएका छन्। यदि ती गुनासाहरूलाई हामीले समयमै सम्बोधन गर्न सकेनौँ भने भविष्यमा पश्चाताप बाहेक विकल्प रहने छैन।
अब समय आएको छ—हामी आफैँ परिवर्तन हुने।

हिजोका कमजोरीहरूलाई छोडेर आजबाट सुधार गर्दै, नेपालगञ्जको व्यापारलाई अझ व्यवस्थित, मर्यादित र अनुशासित बनाउँदै अगाडि बढ्नु हाम्रो कर्तव्य हो।
सीमावर्ती बजारमा व्यापार घट्नु भनेको हाम्रो अवसर बढ्नु हो। तर यो अवसरलाई दीर्घकालीन सफलतामा रूपान्तरण गर्न हामीले निम्न कुराहरू अनिवार्य रूपमा पालन गर्नुपर्छ:
१. प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल–विजक जारी गरौँ।
२. ‘क्यारिङ’ मार्फत ल्याइएका अवैध सामानहरूको कारोबार पूर्ण रूपमा बन्द गरौँ र वैधानिक रूपमा खरिद–बिक्री गरौँ।
३. व्यापारको परिमाण बढेसँगै नाफाको मार्जिन घटाउँदै लैजाऔँ, जसले दीर्घकालीन प्रतिस्पर्धामा टिकिरहन मद्दत गर्छ।
४. उपभोक्तासँग सौहार्दपूर्ण व्यवहार गरौँ—मिठो बोली र सम्मानजनक व्यवहारले ग्राहकलाई स्थायी बनाउँछ।
५. बजारमा उपलब्ध वस्तुहरूको मूल्य र गुणस्तरबारे अध्ययन गरी तथ्यसहित ग्राहकलाई जानकारी गराऔँ। सबै सामान सीमावर्ती बजारमै सस्तो हुन्छ भन्ने भ्रम तोड्न हामी सबै लागौँ।
अन्त्यमा, केही वस्तुहरू नेपालगञ्जमा तुलनात्मक रूपमा महँगा हुनुमा व्यवसायी मात्र जिम्मेवार छैनन्। भन्सार करका उच्च दरहरू यसको प्रमुख कारण हुन्। यी कर दरहरू संशोधन गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघ ले निरन्तर पहल गरिरहेको छ। यस अभियानमा हामी सबैले आ–आफ्नो ठाउँबाट दबाब सिर्जना गर्न आवश्यक छ।
यदि माथिका बुँदाहरू कार्यान्वयन गर्न सक्यौँ भने, व्यवसायीमाथि लागेका आरोपहरू स्वतः निष्प्रभावी हुनेछन् र नेपाली बजार प्रवर्द्धनमा हाम्रो भूमिका अझ सशक्त बन्नेछ।
जय उद्योगी! जय व्यवसायी!

