बयलपाटा अस्पतालमा ‘रुरल ट्रमा कन्फ्रेन्स’, डा. तिवारीको प्रस्तुति उत्कृष्ट


नेपालगन्ज । ‘हेप्सा नेपाल’ले सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा अछामस्थित बयलपाटा प्रादेशिक अस्पतालमा ‘अन्तर्राष्ट्रिय ग्रामीण ट्रमा सम्मेलन’ आयोजना गरेको छ।

 

चैत २५ र २६ गते सम्पन्न दुईदिने सम्मेलनमा देश तथा विदेशका स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनमा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागि भइरहेका प्रयास, आवश्यक सुधारका विषय तथा आगामी रणनीतिबारे व्यापक छलफल गरिएको थियो।

‘हेप्सा नेपाल’का संस्थापक अध्यक्ष तथा अमेरिकास्थित ब्राउन युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर डा. रामु खरेलले सम्मेलन उपलब्धिमूलक भएको बताउँदै यसले स्वास्थ्य क्षेत्रको रणनीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

सम्मेलनको पहिलो दिन प्रयोगात्मक अभ्यासमा केन्द्रित थियो भने दोस्रो दिन विभिन्न स्वास्थ्य विज्ञहरूले आफ्ना प्रस्तुति दिएका थिए। यस क्रममा हुम्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीको ‘प्रि–हस्पिटल केयर’ सम्बन्धी प्रस्तुति उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएको थियो।

डा. तिवारीले ग्रामीण क्षेत्रमा प्रभावकारी ‘प्रि–हस्पिटल केयर’ सेवा विस्तारका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले ग्रामीण स्वास्थ्यका विषयमा महत्त्वपूर्ण सम्मेलन आयोजना गरेकोमा ‘हेप्सा नेपाल’प्रति आभार व्यक्त गर्दै कर्णाली क्षेत्रमा सहकार्यका थुप्रै सम्भावना रहेको बताउनुभयो।

त्यसैगरी, बयलपाटा अस्पतालसँगको सहकार्यमा डा. मन्दिप पाठकले आगामी पाँच वर्षसम्म ग्रामीण ट्रमा सेवा तथा अनुसन्धानमा काम गर्ने जानकारी पनि दिइएको छ ।

प्रकाशित मितिः     २६ बैशाख २०८३, शनिबार १९:१९  |