बाँके । होलिया र गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पक्की पुल बनेको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दाको दैनिक जीवन डुङ्गामै निर्भर छ।
नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवका अनुसार राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्ने गर्दछन्।
उहाँका अनुसार राप्ती सोनारी गाउँपालिकाको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन्। खल्ला झगडिया गाउँ नजिकै डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ।
राप्ती सोनारी–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताउनुभयो।
“नदी तर्न पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ। यता झोलुङ्गे पुल पनि छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “हिउँद होस् वा वर्षात्, हामी डुङ्गाबाटै राप्ती नदी वारपार गर्छौँ।”

डुङ्गाचालक नानबाबु पासीका अनुसार नदी तारेबापत प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने गरिएको छ। गाईभैँसीका लागि २० रुपैयाँ, साइकलका लागि १५ रुपैयाँ र मोटरसाइकलका लागि ६० रुपैयाँ शुल्क लाग्छ। एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उहाँले बताउनुभयो।
हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन्। डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्ती सोनारीको फत्तेपुर, नरैनापुरको गङ्गापुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुङ्गा तरेर हाटबजार जाने गरेका छन्।
भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताउनुभयो।
डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नु दैनिक जीवनको अभिन्न हिस्सा बनेको स्थानीय झगरु लोनियाले बताउनुभयो।
स्थानीयवासीले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने झोलुङ्गे पुल निर्माणको माग गर्दै आएका छन्। स्थानीय तह तथा सरोकारवाला निकायले उक्त पुल निर्माणका लागि पहल भइरहेको बताएका छन्।

