‘कार्यसम्पादन मूल्यांकनमा सबैकाे कामले उत्कृष्ट बन्याैं


नवराज ओली,प्रमुख प्रशासकिय अधिकृत नरैनापुर

देशभरका ७५३ वटा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका आधारमा नरैनापुर गाउँपालिका उत्कृष्ट भएको छ ।

नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहको एकल अधिकार र साझा अधिकारको कार्यदिशा स्पष्ट गरेको छ । सोही अनुसार जनताको नजिकको सरकार स्थानीय सरकारलाई अधिकारसम्पन्न तथा सशक्त बनाउने क्रममा स्थानीय सरकारले चुनौतीका बिच धेरै अवसर प्राप्त गरेको छ । सो अवसरलाई अधिकतम उपयोग गरी चुनौतीको समाधान गर्ने प्रयत्न गरिरहेको छु । स्थानीय तहको विकास निर्माण तथा प्रशासनिक कार्यमा हुन सक्ने ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारको अन्त्य गरी स्थानीय सेवा प्रवाहलाई छिटो छरितो मितव्ययी, प्रभावकारी र गुणस्तरीय बनाउने गरी काम गरेको छाैं ।

योजनाबद्ध विकास पद्धतिलाई निर्देशित गर्ने दस्तावेज, तथ्याङ्क र सूचनामा आधारित हुनुपर्छ । वर्तमान अवस्थाको यथार्थ विश्लेषण, स्रोत साधनको वास्तविक आकलन, संस्थागत क्षमताको वास्तविक मूल्याङ्कन जस्ता विषयमा ध्यान दिइनु पर्छ । दीर्घकालीन सोच, रणनीति, आवधिक योजना र बजेटबिच अन्तर आबद्धता कायम गरी वार्षिक नीति, कार्यक्रम र बजेटलाई आवधिक योजनाको कार्यान्वयन औजारका रूपमा लिइनुपर्छ । 

नेपालको आर्थिक समुन्नतिका वास्तविक क्षेत्र पहिचान गरी लगानी सोहीतर्फ केन्द्रित गरिनुपर्छ । नेपालको आर्थिक विकासको वास्तविक क्षेत्र कृषि, वन, जलस्रोत र पर्यटन भएकाले यी क्षेत्र लगानी केन्द्रित गरिनु पर्छ । प्रत्येक कार्यको मूल्याङ्कन सूचक निर्माण गरी जनप्रतिनिधि एवं प्रशासकको कार्यसम्पादन मूल्याङ्कन पद्धतिको विकास गरिनु पर्छ । 

प्रकाशित मितिः     ६ असार २०८३, शनिबार १०:००  |