‘नरैनापुरले धेरै फड्को मारेको अनुभूति गरेका छौं’ : ईस्तियाक अहमद शाह


 

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो केही वर्षमा नरैनापुरले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताएका छन्। नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण र विद्युतीकरणको काम सम्पन्न भएपछि नरैनापुरको मुहार नै फेरिएको उनको भनाइ छ।

अध्यक्ष शाहका अनुसार देशभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा नरैनापुर गाउँपालिका उत्कृष्ट घोषित हुनु गाउँपालिकाले गरेका कामको परिणाम हो। प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उत्कृष्ट पालिकाको रूपमा मूल्याङ्कन हुनु जनअपेक्षा अनुसार काम भइरहेको पुष्टि भएको उनले बताए।

उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेषज्ञ क्लिनिक सेवा सञ्चालन गरिएको र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको जानकारी दिए। शिक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको उनले बताए।

सामुदायिक पशु व्यवस्थापनका लागि गौशाला व्यवस्थित गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने तथा मुख्य सडक चौडा पार्ने कामलाई पहिलो वर्षका महत्वपूर्ण उपलब्धिका रूपमा उनले उल्लेख गरे।

अध्यक्ष शाहका अनुसार विगतमा नरैनापुरका नागरिक नेपालगन्ज पुग्न भारतको बाटो प्रयोग गर्न बाध्य थिए। विद्युत्, सञ्चार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको पहुँच पनि सीमित थियो। आफू निर्वाचित भएपछि नरैनापुरलाई जिल्ला सदरमुकामसँग जोड्ने लक्ष्य लिएर काम गरिएको र पहिलो कार्यकालमै त्यो लक्ष्य पूरा भएको उनले बताए।

यद्यपि गाउँपालिकाको आफ्नै प्रशासनिक भवन अझै निर्माण हुन नसकेको उनले स्वीकार गरे। सीमित स्रोत–साधनका कारण विकास निर्माणका ठूला आयोजना सञ्चालन गर्न कठिनाइ हुने गरेको भन्दै उनले स्थानीय सरकारको सबैभन्दा ठूलो चुनौती नै जनअपेक्षा र उपलब्ध स्रोतबीच सन्तुलन कायम गर्नु रहेको बताए।

“जनताको माग, आवश्यकता र चुनावी प्रतिबद्धता पूरा गर्न चाहन्छौं, तर साधन स्रोतको अभावले चुनौती थपिएको छ,” अध्यक्ष शाहले भने, “प्रशासनिक व्यवस्थापन र कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्न समेत आन्तरिक आय पर्याप्त छैन।”

उनले उपलब्ध स्रोत–साधनको मितव्ययी र प्रभावकारी उपयोग गर्दै नरैनापुरलाई नमुना गाउँपालिकाको रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको बताए।

प्रकाशित मितिः     ६ असार २०८३, शनिबार १०:०५  |