नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८, चाँदनी बजारस्थित एक घरमा चोरी भएको घटनापछि पीडित परिवारले चोर पत्ता लगाउन सहयोग गर्ने व्यक्तिलाई रु. १ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ।
पीडित परिवारका अनुसार घरमा कोही नभएको मौका छोपी चोरले रु. २० लाखभन्दा बढी मूल्य बराबरका सुनका गरगहना तथा अन्य बहुमूल्य सामान चोरी गरेको हो। घटनाले परिवारलाई ठूलो आर्थिक तथा मानसिक क्षति पुगेको बताइएको छ।
चोरीमा संलग्न व्यक्ति वा घटनासम्बन्धी कुनै जानकारी, फोटो, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराउन परिवारले सर्वसाधारणसँग अनुरोध गरेको छ। चोर पत्ता लगाउन निर्णायक भूमिका खेल्ने व्यक्तिलाई रु. १ लाख नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।

सूचना दिने व्यक्तिको नाम, ठेगाना तथा परिचय पूर्ण रूपमा गोप्य राखिने परिवारले जनाएको छ। पीडित परिवारले आफूहरू बदला होइन, कानुनी प्रक्रियामार्फत न्याय खोजिरहेको उल्लेख गर्दै चोरलाई कानुनको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताएको छ।
घटनासम्बन्धी जानकारी भएमा ९८४३८४४०५७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पीडित परिवारले सामाजिक सञ्जालमार्फत उक्त सूचना बढीभन्दा बढी सेयर गरिदिन समेत आग्रह गरेको छ।

