
हुम्ला, असार १० — सीमित स्रोत–साधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाले अर्को एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
खार्पुनाथ गाउँपालिकाकी ३९ साताभन्दा बढी गर्भवती महिलामा गर्भावस्थाजन्य उच्च रक्तचाप (गेस्टेशनल हाइपरटेन्सन) तथा प्रसूतिको दोस्रो चरणमा जटिल अवस्था देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो। चिकित्सकका अनुसार पहिलो शिशुको प्रस्तुति सुल्टो (सेफालिक) र दोस्रो शिशुको प्रस्तुति उल्टो (ब्रिच) रहेकाले अवस्था थप चुनौतीपूर्ण बनेको थियो।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारी (एमडीजीपी) को नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको कार्यालयले जनाएको छ। शल्यक्रियामा नर्सिङ स्टाफ कञ्चन चौधरी, सरिता बोहोरा, वाङ्मो लामा तथा एनेस्थेसिया सहायक यज्ञराज जोशीलगायत स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो।
शल्यक्रियापछि आमा र दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य तथा सन्तोषजनक रहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ।

विशेषज्ञ चिकित्सक डा. तिवारीले विगत १५ महिनादेखि हुम्लामा सेवा दिँदै आएका छन्। भौगोलिक विकटता, सीमित पूर्वाधार तथा विभिन्न चुनौतीका बाबजुद उनले जिल्लाको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। उनको नेतृत्वमा जटिल शल्यक्रिया, दुर्घटनाका घाइतेहरूको उपचार तथा कैलाश–मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुहरूको उपचारसमेत प्रभावकारी रूपमा हुँदै आएको छ।
दुर्गम हिमाली जिल्लामा समेत गुणस्तरीय तथा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुसार यस्ता जटिल उपचार सेवा निरन्तर प्रदान गरिँदै आएको कार्यालयको भनाइ छ। स्थानीयवासीले हुम्लाजस्तो दुर्गम जिल्लामा सफलतापूर्वक जटिल शल्यक्रिया सम्पन्न हुनु स्वास्थ्य सेवाको उल्लेखनीय उपलब्धि भएको बताएका छन्।

