सुरक्षा निकायका अधिकृतद्वारा जन्ममथलाेकाे मन्दिरलाई धार्मिक सामग्री सहयोग


गुर्भाकोट (सुर्खेत), असार १५ । गुर्भाकोट नगरपालिकामा स्थायी बसोबास भई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा कार्यरत अधिकृतहरूले गुर्भाकोट–४, पोखरास्थित ऐतिहासिक गंगामाला देउतीबज्यै मन्दिरलाई महत्वपूर्ण धार्मिक सामग्री सहयोग गरेका छन्।

सोमबार वडा अध्यक्ष रामबहादुर डाँगीको उपस्थितिमा आयोजित कार्यक्रममा मन्दिरमा गणेश भगवान, गंगामाला देउतीबज्यै माता तथा सिंह (एक जोडी)का मूर्तिहरू स्थापना गरिनुका साथै १६ केजी ३०० ग्राम तौलको घण्टी हस्तान्तरण गरिएको हो।

मन्दिरलाई सह-सेनानी (अवकाशप्राप्त) सन्तबहादुर ओली (बिटालु), सशस्त्र प्रहरी नायब उपरीक्षक छवि रावत, प्रहरी नायब उपरीक्षक चन्द्रकुमार सिंह, नेपाली सेनाका सेनानी मोतीराम खत्री, प्रहरी निरीक्षक नविना ओली, हरिराम डाँगी, नरेश विक, यमबहादुर बुढामगर तथा बालकृष्ण विकले संयुक्त रूपमा सहयोग गरेका हुन्।

वडा अध्यक्ष रामबहादुर डाँगीका अनुसार शिलालेखअनुसार मूर्ति र घण्टीको व्यवस्थापन साविक सहारे गाविसका हाल नेपाली सुरक्षा निकायमा कार्यरत अधिकृतहरूको सहयोगबाट गरिएको हो। स्थानीय समुदायले यस योगदानलाई स्मरणीय कार्यका रूपमा लिएको उहाँले बताउनुभयो।

सहयोग हस्तान्तरण गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक छवि रावतले मन्दिर निर्माणसँगै धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा धार्मिक गतिविधिलाई थप सशक्त बनाउन यस सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक छवि रावत, प्रहरी निरीक्षक यम बुढामगर,नरेश बिक, वडा सदस्य ज्ञानबहादुर डाँगी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक विकलगायतको उपस्थिति रहेको थियो। सहयोग गर्ने अन्य सुरक्षा अधिकारीहरू कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि उहाँहरूका परिवारका सदस्यहरू कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित मितिः     १५ असार २०८३, सोमबार ११:४१  |