हुम्लामा बिरामीलाई अक्सिजन अभावको अन्त्य


हुम्ला, असार १६ — स्वास्थ्य सेवा कार्यालय, हुम्लाले अक्सिजन अभावको समस्या समाधान गर्दै श्वासप्रश्वाससम्बन्धी तथा गम्भीर बिरामीको उपचारलाई थप प्रभावकारी बनाएको छ।

कार्यालय प्रमुख डा. उमाकान्त तिवारीका अनुसार दमलगायत श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्दै गएपछि आवश्यक मात्रामा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको हो। अब आवश्यक परेका बिरामीलाई १५ लिटरसम्म अक्सिजन उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो।

यसअघि अक्सिजन सिलिन्डरको अभावका कारण स्वास्थ्य सेवा कार्यालयले मुख्य रूपमा अक्सिजन कन्सन्ट्रेटर (Oxygen Concentrator) को सहारामा सेवा दिनुपर्ने अवस्था रहेको थियो। नयाँ अक्सिजन सिलिन्डर उपलब्ध भएपछि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।

हिमाली तथा दुर्गम जिल्ला हुम्लामा गरिएको यो व्यवस्थालाई स्वास्थ्य सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसबाट आकस्मिक तथा श्वासप्रश्वाससम्बन्धी बिरामीको उपचार थप प्रभावकारी हुने, रेफर गर्नुपर्ने अवस्थासमेत केही हदसम्म कम हुने र सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

प्रकाशित मितिः     १६ असार २०८३, मंगलवार ०८:३१  |