
सुर्खेत, असार १७ — सुर्खेतको गुर्भाकोट नगरपालिका–४ (साबिक सहारे गाविस) मा अध्ययन गरी हाल नेपालका विभिन्न सुरक्षा निकायमा अधिकृत पदमा कार्यरत पूर्वविद्यार्थीहरूले आफ्नो जन्मस्थलका विद्यार्थी तथा धार्मिक क्षेत्रमा उल्लेखनीय सहयोग गरेका छन्।
मंगलबार आयोजित कार्यक्रममा जनसेवा आधारभूत विद्यालय सहारे, जनसेवा माध्यमिक विद्यालय सहारे, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पोखरा, आधारभूत विद्यालय भालुखोला, सरस्वती माध्यमिक विद्यालय सिमघाट तथा मालिका प्राथमिक विद्यालय कोटमाझखर्कका आर्थिक रूपमा विपन्न १४५ जना विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिल, कटर, इरेजरलगायत शैक्षिक सामग्री वितरण गरिएको हो।
यस अभियानका लागि प्रहरी नायव उपरीक्षक छबि रावत, सेनानी (मेजर) मोतिराम खत्री, सहसेनानी (अवकाशप्राप्त) सन्तबहादुर ओली, प्रहरी नायव उपरीक्षक चन्द्रकुमार सिंह, प्रहरी निरीक्षक नविना ओली, यामबहादुर बुढा मगर, हरिराम डाँगी, नरेश विक तथा बालकृष्ण विकलगायतले संयुक्त रूपमा करिब २ लाख ६० हजार रुपैयाँ संकलन गरी सहयोग गरेका थिए।

कार्यक्रममा पूर्वविद्यार्थी सुरक्षा अधिकृतहरूले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालय र शिक्षक–शिक्षिकालाई सम्मानस्वरूप मायाको चिनो तथा कृतज्ञता–पत्रसमेत प्रदान गरेका थिए।
विद्यालय परिवारले समाजप्रति उत्तरदायी भावना राख्दै आफ्ना जन्मथलोका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा योगदान पुर्याउने सम्पूर्ण पूर्वविद्यार्थी सुरक्षा अधिकृतप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूको आगामी कार्यजीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
यसअघि असार १५ गते पोखरास्थित देउती बज्यै मन्दिरमा मूर्ति तथा विभिन्न धार्मिक सामग्री हस्तान्तरण गरिएको थियो। उक्त धार्मिक सहयोगसहित जन्मस्थलमा गरिएको समग्र सहयोगको रकम करिब ४ लाख १० हजार रुपैयाँ पुगेको आयोजकहरूले जानकारी दिएका छन्।

