
हरेक स्थानीय तह निर्वाचनमा लगभग सबै राजनीतिक दलको घोषणा–पत्रमा एउटा साझा प्रतिबद्धता दोहोरिन्छ— “नेपालगञ्जलाई स्मार्ट सिटी बनाउँछौँ।” तर आजसम्म एउटा आधारभूत प्रश्नको स्पष्ट उत्तर छैन— स्मार्ट सिटी भनेको आखिर के हो? र नेपालगञ्जलाई त्यस्तो शहर कसरी बनाउने?
स्मार्ट सिटी केवल चौडा सडक, अग्ला भवन वा आकर्षक प्रवेशद्वारको नाम होइन। यो यस्तो शहर हो जहाँ नागरिकले सुरक्षित, स्वच्छ, व्यवस्थित, प्रविधिमैत्री र गुणस्तरीय जीवन सहज रूपमा जिउन सकून्। जहाँ पूर्वाधार, प्रविधि, सुशासन र वातावरणीय सन्तुलन एकसाथ अघि बढ्छन्।
नेपालगञ्जमा सडक पूर्वाधार विस्तार भएको छ, तर त्यसको दिगोपनमाथि गम्भीर प्रश्न उठिरहेका छन्। सडक बनेको केही समयमै भत्किन्छ, सडकपेटी निर्माणपछि फेरि खनिन्छ, वर्षायाममा पानी निकासको उचित व्यवस्था हुँदैन। बिजुलीका पोल बाङ्गिएका छन्, तारहरू अव्यवस्थित रूपमा झुण्डिएका छन्। पुराना संरचना हटाइन्छन्, तर नयाँ संरचना समयमै बन्दैनन्। यस्तो विकासले आधुनिक होइन, अव्यवस्थित शहरको चित्र प्रस्तुत गर्छ।
अब नेपालगञ्जमा “स्मार्ट सिटी” भन्ने नाराभन्दा अघि “स्मार्ट योजना” को औपचारिक सुरुवात हुन आवश्यक छ।
स्मार्ट शहर निर्माणका आधारभूत प्राथमिकताहरू यस्ता हुन सक्छन्—
• सबैका लागि सुरक्षित र व्यवस्थित आवास।
• शुद्ध खानेपानी तथा प्रभावकारी ढल व्यवस्थापन।
• प्रत्येक टोलमा सार्वजनिक तथा व्यक्तिगत शौचालयको पहुँच।
• व्यवस्थित सडक, सडकपेटी र साइकल लेन।
• डिजिटल तथा क्यासलेस भुक्तानी प्रणाली।
• पूर्ण डिजिटल, पारदर्शी र नागरिकमैत्री नगर सेवा।
• एकीकृत नागरिक डाटाबेस।
• कम्तीमा पाँच प्रतिशत हरियाली क्षेत्र तथा प्रत्येक घरमा कम्तीमा दुईवटा रूख।
• खुला सार्वजनिक स्थान, पार्क र बालमैत्री क्षेत्र।
• आवासीय, व्यावसायिक, औद्योगिक र प्रशासनिक क्षेत्रको स्पष्ट भू–उपयोग योजना।
• सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात।
• नवीकरणीय ऊर्जाको प्रयोग तथा न्यून कार्बन उत्सर्जन।
• जलस्रोत संरक्षण र वर्षाको पानी व्यवस्थापन।
• निजी क्षेत्रसँग सहकार्य गर्दै सूचना प्रविधिमार्फत प्रभावकारी राजस्व तथा सेवा प्रवाह।
स्मार्ट सिटी कुनै सीमित वर्गका लागि होइन। दैनिक लाखौँ रुपैयाँ आम्दानी गर्ने व्यवसायीदेखि दैनिक ज्यालादारी गरेर परिवार पाल्ने नागरिकसम्म सबैले समान अवसर, सहज सेवा र सुरक्षित वातावरण पाउने शहर नै वास्तविक स्मार्ट सिटी हो।

आज नेपालगञ्जको सडक, खानेपानी, नाली, सडकपेटी र सार्वजनिक पूर्वाधारको अवस्था हेर्दा सुधार गर्नुपर्ने पक्ष धेरै छन्। तर अब आवश्यकता केवल आलोचनाको होइन, दीर्घकालीन योजना, इमानदार कार्यान्वयन र जवाफदेही नेतृत्वको हो।
उपमहानगरपालिकाले सबैभन्दा पहिले स्मार्ट सिटीका स्पष्ट मापदण्ड सार्वजनिक गर्नुपर्छ। त्यसपछि पाँच, दस र बीस वर्षको कार्ययोजना तयार गरी नागरिकसँग साझा गर्नुपर्छ। प्रत्येक वर्ष हासिल भएका उपलब्धि, खर्च र बाँकी रहेका कामको सार्वजनिक समीक्षा गर्ने संस्कृतिको पनि विकास हुनुपर्छ।
नेपालगञ्जका युवाहरू अब आकर्षक नाराभन्दा परिणाम हेर्न चाहन्छन्। उनीहरूलाई भाषण होइन— व्यवस्थित सडक, सफा शहर, डिजिटल सेवा, हरियाली, रोजगारी र आधुनिक पूर्वाधार चाहिएको छ।
यदि अहिलेको विकासको गति र शैली यथावत् रहने हो भने “स्मार्ट सिटी” केवल प्रस्तुति, इन्फोग्राफिक्स र सामाजिक सञ्जालका तस्बिरमै सीमित हुनेछ। तर यदि दूरदृष्टि, स्पष्ट योजना, पारदर्शिता र इमानदार कार्यान्वयनका साथ अघि बढ्ने हो भने नेपालगञ्जलाई आधुनिक, समावेशी र उदाहरणीय स्मार्ट सिटी बनाउन अझै ढिलो भएको छैन।
अब समय आएको छ— स्मार्ट सिटीको नारा होइन, स्मार्ट कामको सुरुवात गर्ने। नेपालगञ्ज त्यसको पूर्ण हकदार छ।

