नरैनापुरमा शिक्षक विज्ञापनलाई लिएर विवाद


नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित जय किसान माध्यमिक विद्यालयले गाउँपालिकाको शिक्षा शाखासँग समन्वय नगरी शिक्षक पदका लागि विज्ञापन प्रकाशित गरेपछि विवाद उत्पन्न भएको छ।

गाउँपालिकाको शिक्षा शाखाले स्थानीय तहसँग आवश्यक समन्वय नगरी गरिएको विज्ञापनप्रति असन्तुष्टि जनाएको छ। शिक्षा शाखा प्रमुख कमल केसीले विद्यालयले शिक्षक भर्ना प्रक्रिया अघि बढाउँदा गाउँपालिकाको शिक्षा शाखासँग समन्वय हुनुपर्ने बताए।

यस विषयमा स्थानीय पत्रकार बिनय दीक्षितले पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै स्थानीय तहलाई बेवास्ता गरेर शिक्षक भर्ना प्रक्रिया अघि बढाउनु उचित अभ्यास नभएको टिप्पणी गरेका छन्।

यसैबीच सामाजिक सञ्जालमा पनि विषयले चर्चा पाएको छ। केसीकाे टिप्पणीमा, “जय किसान मावि नरैनापुर बाँकेको सबै तलब–भत्ता निकासा जिल्ला शिक्षा तथा समन्वय इकाई बाँकेले नै जिम्मा लिओस्। यदि यो देशमा संघीयता असफल हुन्छ भने त्यसको सुरुवातकर्ता बाँकेको शिक्षा विकास तथा समन्वय इकाई नै हो,” भन्ने प्रतिक्रिया सार्वजनिक भएको छ।

स्थानीय तह र जिल्ला शिक्षा तथा समन्वय इकाईबीचको अधिकार तथा समन्वयको विषयलाई लिएर विवाद चर्किएको देखिएको छ। यस विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। तर नियम अनुसार नै भएको दावी गरिएको छ ।

प्रकाशित मितिः     २३ असार २०८३, मंगलवार २१:५५  |