
नेपालगञ्ज, बाँके। डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृह परिसरमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको वातावरण विभागको आयोजनामा साउन महिनालाई हरित अभियानका रूपमा मनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा तथा ५० भन्दा बढी केराका बिरुवा रोपिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले वृक्षारोपण गर्दै बिरुवा रोप्नु भनेको भावी पुस्ताको जीवन सुरक्षित गर्नु भएको बताउनुभयो। उहाँले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा हरित विकासका लागि प्रत्येक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभापतिले जयन्दु बाल सुधार गृहमा केरासहित विभिन्न प्रजातिका बिरुवा रोपिएको उल्लेख गर्दै यस्ता अभियानले बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै बास नेपालले वातावरण संरक्षणका क्षेत्रमा सञ्चालन गर्दै आएका अभियानहरूको प्रशंसा गर्नुभयो।

जिल्ला वन डिभिजन कार्यालयको सहयोगमा पारिजात, अर्जुन, कटहर, सितलचिनी, कल्की लगायतका बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवा रोपिएको आयोजकले जनाएको छ। फलफूल उत्पादन र हरियाली विस्तार गर्ने उद्देश्यले ५० भन्दा बढी केराका बिरुवा पनि रोपिएका थिए, जसका लागि देबेन्द्र अधिकारीले सहयोग गर्नुभएको थियो।
कार्यक्रममा जग्गादाता तथा संरक्षक जेकेएस सिंह, नागरिक समाज संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्सका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, वातावरण विभाग संयोजक हेमन्तराज काफ्ले, समाजसेवी कमल काफ्ले, दैलेखी समाजका डीबी थापा, रविन्द्र बोहरालगायत सामाजिक व्यक्तित्व तथा वातावरण अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवर्द्धन गर्दै बाल सुधार गृह परिसरलाई थप हराभरा बनाएको सहभागीहरूले बताएका छन्। बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहका अनुसार आगामी दिनमा पनि यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिइनेछ।

