
नेपालगञ्ज । संघीय निर्वाचनपछि बनेको सरकारको निर्देशनसँगै बाँकेको जमुनाह नाकामा सशस्त्र प्रहरी बलले अवैध सामान नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षा कडा बनाएको देखिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा हालसम्म जमुनाह नाकाबाट १३ करोड ३१ लाख ६१ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।
प्रतिवेदनअनुसार बरामद सामानमध्ये ११ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरका सामग्री राजस्व तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ। यस अवधिमा २२ लाख ४८ हजार रुपैयाँ बराबरको काठ बरामद गरिएको र ८५ लाख २३ हजार रुपैयाँ मूल्य बराबरका सामग्री नष्ट गरिएको उल्लेख छ।
त्यसैगरी ६० लाख ९६ हजार रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरिएको छ। वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब २१ लाख रुपैयाँ बराबर बरामद भएको प्रतिवेदनमा उल्लेख छ। अवैध सामान ओसारपसारमा संलग्न २१ जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। यस अवधिमा लागूऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको गण स्रोतले जनाएको छ।
२३ महिला उद्धार, २१ मानव बेचबिखनका आरोपित पक्राउ
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ। मानव बेचबिखनसम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको हो।
यसै प्रकरणमा संलग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो समय जमुनाह नाकामा सुरक्षा निगरानी उल्लेखनीय रूपमा बढेको छ। सरकारको निर्देशनपछि सशस्त्र प्रहरीका जवानदेखि कमाण्डरसम्म सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व संरक्षणमा सक्रिय रूपमा परिचालित भएका छन्।

