विपद्का कारण एमाले बाँकेको जागरण अभियान र तीज कार्यक्रम स्थगित


 

नेपालगन्ज । रसुवा तथा नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेकपा (एमाले) बाँके जिल्ला कमिटीले दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको उद्धार तथा सहयोगका लागि अपिल गरेको छ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बिज्ञप्ति जारी गरि बाढीपहिरोमा परी मृत्यु भएका नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार, घाइतेको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका हुन ।

विपद्को कठिन समयमा सबै राजनीतिक दल, संघसंस्था तथा आम नागरिकलाई संयमित, संवेदनशील र सहयोगी भूमिका निर्वाह गर्न पनि जिल्ला कमिटीले अपिल गरेको छ।

यसैबीच, विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै एमाले बाँके जिल्ला कमिटीद्वारा आयोजित जागरण अभियान, यस वर्ष हुने तीज कार्यक्रम तथा पार्टीको ब्यानरमा हुने सबै कार्यक्रमहरू भदौ १४ गतेसम्म स्थगित गरिएको जनाएको छ।

‘विपद्मा राजनीति होइन, मानवीयता पहिलो प्राथमिकता हो’ भन्ने सन्देशसहित एमाले बाँकेले पीडितको आँसु पुछ्न सबै हात एकजुट हुन आग्रह गरेको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूलाई उद्धार तथा सहयोगका लागि आवश्यक तयारी अवस्थामा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विपद्मा परेका नागरिकको जीवनरक्षामा जुट्न पनि आह्वान गरिएको छ।

एमाले बाँके जिल्ला कमिटीले विपद्को यस कठिन घडीमा पार्टी पंक्ति एकताबद्ध भएर जनताको जीवनरक्षा, उद्धार, राहत तथा सहयोगमा सक्रिय रूपमा परिचालित हुन अपिल गरेको हो।

प्रकाशित मितिः     ११ भाद्र २०८३, बिहीबार १८:०८  |