नेपालगन्ज । नेपालगन्जमा सञ्चालित तीनवटा स्पामा उमेर नपुगेका बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाइएको आरोपमा प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जका केही स्पामा उमेर नपुगेका बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाउने गरिएको सूचनाका आधारमा प्रहरीले अनुगमन तथा अनुसन्धान गरेको थियो।
प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, सोही क्षेत्रमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारु र नेपालगन्ज–२ न्यूरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ती स्पामा विभिन्न उमेरका बालिकालाई गैरकानुनी रूपमा काममा लगाइएको पाइएको थियो। प्रहरीले त्यहाँ कार्यरत पीडित बालिकाहरूको उद्धारसमेत गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले बालबालिकालाई श्रममा लगाउने तथा उनीहरूको अधिकारविपरीत हुने कुनै पनि गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

