बाढीपीडितलाई ५ लाख ५१ हजार सहयोगदेखि डिजिटल सेवासम्म


 

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वको कार्यसमितिले सपथग्रहणसहित पदभार ग्रहण गरेको छ।

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री इस्तियाक राई, लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू रत्न खत्री र भण्डारीलाल यादवसहित उद्योगी–व्यवसायी, प्रहरी तथा प्रशासनका प्रमुख, जनप्रतिनिधि लगायतको उपस्थितिमा भएको सपथग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष ओलीले देशमा उत्पन्न विषम परिस्थितिको सामना गर्न निजी क्षेत्रले सरकार तथा सरोकारवाला पक्षसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।

सपथग्रहण तथा पदभार ग्रहणलगत्तै बसेको संघको बैठकले रसुवा बाढीपीडितलाई आर्थिक सहयोग गर्ने, संघका गतिविधि डिजिटल बनाउने तथा बाँकेका सबै पालिकामा करसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका चार महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अध्यक्ष, पदाधिकारी, सदस्य तथा कर्मचारीसहित संघको तर्फबाट रु. ५ लाख ५१ हजार प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

त्यस्तै, संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, उद्योगी–व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरिएको छ। निर्वाचन तथा नेतृत्व हस्तान्तरण प्रक्रिया सफल बनाउन भूमिका निर्वाह गरेको निवर्तमान कार्यसमितिप्रति समेत बैठकले आभार व्यक्त गरेको छ।

संघका सम्पूर्ण गतिविधि तथा सेवालाई क्रमशः डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि आवश्यक प्रविधि, पूर्वाधार तथा कार्ययोजना तयार गरी संघका सूचना, सेवा, अभिलेख तथा सदस्यता व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तयारी अघि बढाइने भएको छ।

यसैगरी, उद्योग, व्यापार तथा करसम्बन्धी विषयमा व्यवसायीलाई सचेत र जानकार बनाउने उद्देश्यले बाँकेका सबै पालिकामा ‘बिजनेस एण्ड स्मार्ट ट्याक्स अवेयरनेस’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

कार्यक्रममार्फत व्यवसाय दर्ता तथा नवीकरण, कर प्रणाली, कर भुक्तानी प्रक्रिया र उद्योग–व्यवसाय सञ्चालनसँग सम्बन्धित आवश्यक विषयमा व्यवसायीलाई जानकारी तथा साक्षरता प्रदान गरिने संघले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिले निजी क्षेत्रको विकास, व्यवसायीमैत्री वातावरण निर्माण, डिजिटल प्रविधिको प्रयोग तथा उद्योग–व्यवसायसम्बन्धी साक्षरता विस्तारलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ।

प्रकाशित मितिः     १४ भाद्र २०८३, आईतवार १९:२२  |