
बाँके । नेपालगन्ज–१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले रसुवा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा रु. ३ लाख ४५ हजार ७७१ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवस्थापनको सामूहिक पहलमा संकलित रकमको चेक शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरिएको हो।
विद्यालयका संस्थापक सदस्य डा. डक्टप्रसाद धितालले विपद्को समयमा सहयोग गर्नु नै साँचो शिक्षा भएको बताउँदै विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट समेत उत्साहपूर्वक योगदान गरेको जानकारी दिनुभयो।
विद्यालयका संस्थापक अध्यक्ष केबी बसेलले बाढीपीडितको दुःखमा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताउनुभयो। निर्देशक तथा संस्थापक सुशिला बसेलले आगामी दिनमा पनि राहत तथा पुनःस्थापनाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

चेक ग्रहण गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले सोफिया स्कुलले प्रस्तुत गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै अन्य निजी विद्यालयलाई पनि मानवीय सेवाका अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
विद्यार्थीको बचतदेखि शिक्षक–कर्मचारीको स्वेच्छिक योगदानसम्म—सोफिया स्कुलको यो पहलले शिक्षा केवल किताब र परीक्षामा सीमित नभई मानवता र सामाजिक जिम्मेवारीसँग पनि जोडिएको सन्देश दिएको छ।

