
नेपालगन्ज । रु. १ अर्ब १९ करोड लागतमा निर्माण भइरहेको बाँकेको राप्ती नदीस्थित सिधनियाँघाट पुलको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ। आयोजना अन्तिम चरणमा पुगिरहेका बेला पुलको लम्बाइ बढाउनुपर्ने स्थानीयको जाेडदार माग छ ।
स्थानीयवासीले ७०० मिटर लामो पुललाई १ हजार १४० मिटर बनाउनुपर्ने माग गरेका छन्। राप्ती नदीको बाढी तथा डुबानको प्रभाव क्षेत्र करिब १ हजार १४० मिटर रहेकाले ७०० मिटरको पुल पर्याप्त नहुने उनीहरूको तर्क छ। माग सम्बोधन नभए बाँकी निर्माण तथा नदी नियन्त्रणका काममा समेत अवरोध गर्न सक्ने चेतावनी स्थानीयले दिएका छन्।
यसअघि राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयले पुलको लम्बाइ बढाउन सरकारसँग माग गरेका थिए।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत नेपालगन्ज योजना कार्यालयका प्रमुख जिल्ला इन्जिनियर लीलाबहादुर भण्डारीले स्थानीयले उठाएको माग मन्त्रालयमा पठाउने जानकारी दिनुभयो।
कुल रु. १ अर्ब १९ करोड लागत रहेको आयोजनामा हालसम्म करिब रु. ९० करोड भुक्तानी भइसकेको छ। २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको पुल २०८४ असोज ४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

इन्जिनियर भण्डारीका अनुसार पुलको अधिकांश संरचना निर्माण भइसकेको छ। अब दुईवटा स्पानमा करिब १२२ मिटर माथिल्लो स्ल्याब ढलान गर्न बाँकी छ। कार्यालयले आगामी वर्ष यही अवधिसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
पुलसँगै पश्चिमतर्फ १ हजार र पूर्वतर्फ ४८० मिटर गरी कुल १ हजार ४८० मिटर पहुँच सडक निर्माण हुनेछ। पुल आसपास करिब ४ हजार ६०० मिटर क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणको कामसमेत हुनेछ।
पूर्वतर्फको सानो भङ्गालोमा निर्माण हुने करिब ४४० मिटर पहुँच सडकमा पनि पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ। नदी नियन्त्रणका क्रममा खेतीयोग्य तथा निजी जमिन प्रभावित हुन सक्ने भन्दै उनीहरूले जग्गा संरक्षण र आवश्यक परे उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेका छन्।
निर्माण सम्पन्न भएपछि सिधनियाँघाट पुलले नेपालगन्ज–बघौडा–अगैया सडकखण्डको आवागमन सहज बनाउनुका साथै हुलाकी राजमार्ग आसपासको व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। तर आयोजना अन्तिम चरणमा पुगिसक्दा उठेको पुलको लम्बाइसम्बन्धी विवादले निर्माण कार्य र आयोजनाको भविष्यमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

