सिद्धार्थ कटेजको खाना ‘अतिउत्तम’ वर्गमा प्रमाणित


 

नेपालगन्ज, भदौ २४ । नेपालगन्जमा रहेको सिद्धार्थ कटेजको खाना ‘अतिउत्तम’ वर्गमा प्रमाणित भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले कटेजको किचेनको स्थलगत अनुगमन गरी खाद्य स्वच्छताका आधारमा ‘क’ वर्गको अतिउत्तम स्तर निर्धारण गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

करिब २५ वर्षदेखि सञ्चालनमा रहेको सिद्धार्थ कटेज नेपालगन्जमा सिद्धार्थ ग्रुपको पहिलो कटेज हो। खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेसहित तीन सदस्यीय प्राविधिक टोलीले किचेनमा खाना तयार गर्दा अपनाइएका स्वच्छताका मापदण्डको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा किचेनको सरसफाइ तथा फोहोर व्यवस्थापन, खाद्य सामग्रीको उत्पादन तथा म्याद सकिने मिति, ताजा तथा विषादीरहित सामग्रीको प्रयोग, तयार खानाको तापक्रम व्यवस्थापन, फ्रिज तथा चिलरको तापक्रमलगायत ५० वटा सूचक मूल्यांकन गरिएको थियो।

यी सूचकका आधारमा होटल तथा रेस्टुरेन्टलाई सामान्य सन्तोषजनक, उत्तम र अतिउत्तम गरी चार तहमा वर्गीकरण गर्ने गरिएको छ। सिद्धार्थ कटेजले ९० अंकसहित तीनतारे ‘क’ वर्गको अतिउत्तम स्तर प्राप्त गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत एवं सूचना अधिकारी रामहरी लामिछानेले बताए।

तीनतारे ‘क’ वर्गको अतिउत्तम स्तरमा पर्ने सिद्धार्थ कटेज नेपालगन्जको पहिलो रेस्टुरेन्ट भएको कटेजका प्रबन्धक सीताराम पोखरेलले बताए।

सिद्धार्थ कटेज करिब १० करोड रुपैयाँ लगानीमा ३० कट्ठा क्षेत्रफलमा फैलिएको छ। यहाँ एकैपटक करिब ३०० जनालाई खाना तथा खाजा खुवाउन सक्ने रेस्टुरेन्ट छ। पार्टी तथा विशेष समारोहमा एकैसाथ करिब ५ हजार जनालाई आतिथ्य सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ।

कटेजमा करिब १ हजार क्षमताको एउटा, ३०० क्षमताका तीनवटा हल तथा साना–ठूला गरी ८ वटा रेस्टुरेन्ट हल छन्। गत वर्ष कटेजले करिब १ लाख ५० हजार पाहुनालाई आतिथ्यलगायत सेवा उपलब्ध गराएको थियो।

खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरणका लागि नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०७४ मा जारी गरेको निर्देशिकाअनुसार अनुगमन गरिएको हो।

सिद्धार्थ ग्रुपले देशभर रहेका ३३ वटा आउटलेटका किचेनमा खाद्य स्वच्छतालाई उच्च प्राथमिकता दिँदै आएको जनाएको छ। किचेनमा काम गर्ने हेल्पर तथा सेफलाई फुड सेफ्टी म्यानेजमेन्टका विभिन्न चरणको तालिमसमेत सञ्चालन गरिँदै आएको छ।

प्रकाशित मितिः     २४ भाद्र २०८३, बुधबार २०:४१  |