खजुरामा बालिकालाई एचपीभी खोप अभियान शुरु


 

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु गरिएको छ। खजुरा–२ स्थित शुक्र माविबाट पालिकाले खोप अभियानको शुभारम्भ गरेको हाे ।

पालिकाका अनुसार विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाउन सुरु गरिएको छ। नियमित खोप सुदृढीकरण तथा विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालनसम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रमपछि खोप अभियान अघि बढाइएको हो।

खजुरा गाउँपालिकाको स्वास्थ्य तथा सामाजिक शाखाका अनुसार गत वर्ष पालिकामा २ हजार ७ जना बालिकालाई एचपीभी खोप लगाइएको थियो। यस वर्ष भने ८२७ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओलीले जानकारी दिइन्।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन देव नारायण उपाध्यायका अनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत बालिकालाई लक्षित गरी खोप प्रदान गरिनेछ। विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई समेत खोप लगाइने जनाइएको छ।

अभियानमा विद्यालयका स्वास्थ्य शिक्षक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। एचपीभी खोपलाई नियमित खोप कार्यक्रममै समावेश गरी अभियान सञ्चालन गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप महत्वपूर्ण भएकाले लक्षित बालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाबीच समन्वय गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मितिः     ४ आश्विन २०८३, आईतवार ०७:३४  |