भारी वर्षाको जोखिम : विद्युत प्राधिकरणले अपनायो उच्च सतर्कता


काठमाडौँ । आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नेपाल विद्युत प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेको हो।

समुद्रमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा भारी वर्षासँगै बाढी, पहिरो, चट्याङ, हुरीबतास तथा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ।

सम्भावित प्रतिकूल मौसमका कारण विद्युतीय संरचनामा क्षति पुग्न सक्ने भएकाले सेवा अवरुद्ध भएमा तत्काल मर्मत गरी विद्युत आपूर्ति पुनः सञ्चालन गर्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक प्रतिकूल मौसममा घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न तथा विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ।

विद्युतीय संरचनामा क्षति पुगेमा वा विद्युत सेवा अवरुद्ध भएमा प्राधिकरणको हटलाइन ११५० वा सम्बन्धित वितरण केन्द्रको स्थानीय ‘नो–लाइट’ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

स्थानीय ‘नो–लाइट’ नम्बर प्राधिकरणको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

प्राधिकरणले मौसमसम्बन्धी सूचना तथा विद्युत सेवासम्बन्धी जानकारीका लागि अफवाहमा नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनामा विश्वास गर्न र सोहीअनुसार आवश्यक पूर्वतयारी अपनाउन समेत अनुरोध गरेको छ।

प्रकाशित मितिः     ६ आश्विन २०८३, मंगलवार २१:००  |