
ईर्ष्या हाम्रो सबैभन्दा पुरानो र सबैभन्दा कम स्वीकारिएको भावना हो। मस्तिष्कले यसलाई शारीरिक पीडाझैँ दर्ता गर्छ, समाजले यसलाई लाजझैँ लुकाउँछ। तर यसलाई बुझ्न सक्यौँ भने यो विनाशको आगो होइन, निर्माणको इन्धन बन्न सक्छ।
एघार बजेको नीलो उज्यालो
नेपालगन्जको भाडाको एउटा कोठामा राति एघार बजेको छ । सुष्मा (नाम परिवर्तित) ओछ्यानमा पल्टिएर फोन चलाइरहेकी छिन्।
स्क्रोल। कलेजकी साथी समुद्र किनारमा।
स्क्रोल। छिमेकीको छोराले विदेशमा नयाँ गाडी किनेको।
स्क्रोल। आफूसँगै जागिर सुरु गरेकी सहकर्मी बढुवा भएर मिठाई बाँड्दै।
उनले कसैलाई केही भन्दिनन्। बधाईको इमोजी पठाउँछिन्। तर छातीभित्र एउटा सानो, न्यानो, अप्ठ्यारो आगो सल्किसकेको हुन्छ। त्यो आगोको नाम उनलाई थाहा छ। नाम लिन मात्र लाज लाग्छ।
त्यही रात, दुई सय किलोमिटर पश्चिमको एउटा गाउँमा एक बाबु बरन्डामा बसेका छन्।छोराको नतिजा राम्रै छ, तर छिमेकीको छोराको अझ राम्रो छ। भोलि बिहान उनी मुस्कुराएरै बधाई दिनेछन्, अनि आफ्नै छोरालाई भन्नेछन्, “अलिकति मिहिनेत गरेको भए…” उमेर, भूगोल र वर्ग फरक छ, तर दुवै छातीभित्रको भावना एउटै हो।
रिस देखाउन सकिन्छ, पीडा पोख्न सकिन्छ, प्रेम भन्न सकिन्छ। तर “तिम्रो सफलता देखेर मलाई पोल्यो” भन्ने वाक्य कसैले बोल्दैन। जुन भावनाको नाम लिइँदैन, त्यो मरेर होइन, लुकेर बलियो हुन्छ।
ईर्ष्या र डाह: एउटै होइनन्
ईर्ष्या (Envy) दुई पक्षको खेल हो। ऊसँग त्यस्तो केही छ जुन मसँग छैन। यो अभावको भावना हो।
डाह (Jealousy) तीन पक्षको खेल हो। मसँग भएको कुरा कसैले खोस्ला भन्ने त्रास। यो गुमाउने भयको भावना हो। ईर्ष्याभित्र पनि डच मनोवैज्ञानिक नील्स भ्यान दे भेनले दुई स्पष्ट धारा छुट्याएका छन्, र यही भिन्नता यो लेखको मेरुदण्ड हो ।
सकारात्मक ईर्ष्या (Benign Envy) : “ऊ त्यहाँ पुग्यो भने म पनि पुग्न सक्छु।” ध्यान आफ्नो लक्ष्यतिर सर्छ। नकारात्मक डाह (Malicious Envy): “ऊ त्यहाँबाट झर्नुपर्छ।” ध्यान अर्काको पतनतिर सर्छ। दुवैको सुरुवात एउटै पीडाबाट हुन्छ। फरक यति हो कि एउटाले उक्लने भर्याङ बनाउँछ, अर्कोले अर्काको भर्याङ भाँच्न सिकाउँछ।
मस्तिष्कले घाउ ठानेको भावना
ईर्ष्या नैतिक कमजोरी मात्र होइन, मस्तिष्कको मापनयोग्य अवस्था हो। जापानी अनुसन्धानकर्ता हिडेहिको ताकाहासीको टोलीले सन् २००९ मा “साइन्स” जर्नलमा प्रकाशित गरेको अध्ययनमा सहभागीलाई आफूभन्दा सफल व्यक्तिको कथा पढाउँदै मस्तिष्क स्क्यान गरिएको थियो।
अनुसन्धानले के देखायो
ईर्ष्या जाग्दा एन्टेरियर सिंगुलेट कर्टेक्स सक्रिय भयो, जुन भाग शारीरिक पीडाको बेला बल्छ। जति गहिरो ईर्ष्या, त्यति तीव्र सक्रियता। यो पीडा नापिन सकिने खालको थियो। त्यही व्यक्तिमाथि विपत्ति आउँदा पुरस्कार केन्द्र भेन्ट्रल स्ट्रायटम सक्रिय भयो।
अन्तिम बुँदा सबैभन्दा असहज छ। हाम्रो मस्तिष्क अर्काको उचाइलाई आफ्नो घाउ र अर्काको पतनलाई आफ्नो पुरस्कार ठान्न अभ्यस्त छ।
मस्तिष्कका लागि ईर्ष्या रूपक होइन, साँच्चिकै घाउ हो । त्यसैले यसबाट भाग्न यति गाह्रो हुन्छ।
आदिम अलार्म, आधुनिक संसार
प्रकृतिले यति पीडादायी भावना किन बनायो? हजारौं वर्षअघि मानिस साना समूहमा बाँच्थ्यो। त्यहाँ स्रोत साँच्चै शून्ययोग थियो। छिमेकीले धेरै मासु पायो भने मेरो भागमा साँच्चिकै कम पर्थ्यो। ईर्ष्या त्यसबेलाको आन्तरिक अलार्म थियो, “तिमी पछाडि पर्दै छौ, सतर्क होऊ।” समस्या के भयो भने, संसार बदलियो तर अलार्म बदलिएन। आज स्कुले साथीले दुबईमा घर किन्दा मेरो भान्सामा एक मुठी चामल घट्दैन। आजको अर्थतन्त्र धेरै हदसम्म पोजिटिभ सम छ, जहाँ एउटाको सिर्जनाले अर्काका लागि ढोका खोल्छ। तर हाम्रो पुरानो मस्तिष्कले अझै आदिम गणित गरिरहेको छ। यही असंगति नै आधुनिक ईर्ष्याको जड हो।
तुलनाको तर्कशास्त्र: कहाँ चुक्छ दिमाग
लियोन फेस्टिन्जरको सामाजिक तुलना सिद्धान्त भन्छ, आफ्नो मूल्य नाप्ने वस्तुगत मापदण्ड नभएपछि मानिस अरूलाई नै मिटर बनाउँछ। यहीँबाट तीन भ्रम जन्मिन्छन्।
शून्ययोगको भ्रम: अर्काको खातामा जम्मा भएको रकम मेरो खाताबाट कटेको होइन।
माथिल्लो तुलनाको एकपक्षीयता: सय जनामध्ये नब्बेभन्दा अगाडि भए पनि बाँकी दसले नै रातको निद्रा खान्छ।
सम्पादित यथार्थ: हामी आफ्नो पर्दापछाडिको जीवनलाई अरूको सम्पादित ट्रेलरसँग दाँज्छौँ। रिलपछाडिको फिल्टर, ऋण र एक्लोपन कहिल्यै फ्रेमभित्र आउँदैन।
तेस्रो बुँदा प्रमाणित छ। सन् २०१२ मा च्याउ र एजको अध्ययनले देखायो, जसले सामाजिक सञ्जालमा बढी समय बिताउँछ, उसले अरूको जीवनलाई वास्तविकभन्दा बढी सुखी ठान्छ। कारण सरल छ। हामी अरूको उत्सव देख्छौँ, दिनचर्या होइन। तुलना आफैँमा खराब होइन। खराब त्यतिबेला हुन्छ जब “ऊ अगाडि छ” भन्ने तथ्य “म कम मूल्यको मान्छे हुँ” भन्ने निष्कर्षमा पुग्छ।
पेशाको भित्री तराजु: ईर्ष्या कहाँ बस्छ
बर्ट्रयान्ड रसेलले “द कङ्क्वेस्ट अफ ह्यापिनेस” मा एउटा मार्मिक अवलोकन गरेका छन्। भिखारीले करोडपतिसँग ईर्ष्या गर्दैन, ऊ आफूभन्दा बढी भिख पाउने अर्को भिखारीसँग गर्छ। दुई हजार वर्षअघि ग्रीक कवि हेसियडले पनि लेखेका थिए, कुमालेको रिस अर्को कुमालेसँग हुन्छ।

ईर्ष्या आकाशतिर हेर्दैन, छेउछाउ हेर्छ,हरेक पेशाको आफ्नै गोप्य तराजु हुन्छ, जुन बाहिरकाले देख्दैनन्।
चिकित्सक: एमडीको सिट, ओपीडीको लाइनको लम्बाइ, विदेशी फेलोशिप। कुशल शल्यचिकित्सकलाई उद्योगपतिको अर्बौंले पोल्दैन, आफ्नै ब्याचमेटको भीडले पोल्छ। मूल्य भने तेस्रो पक्ष, अर्थात् बिरामीले तिर्छ।
कानुन व्यवसायी: कुन इजलासमा बहस गर्न पाइयो, कति तौलको मुद्दा हात लाग्यो, नियुक्तिको सूचीमा नाम पर्यो कि परेन। बार र बेन्चको सिद्धान्तनिष्ठ बहसभित्र कति ठाउँमा व्यक्तिगत पीडा लुकेको छ, बाहिरबाट छुट्याउन गाह्रो छ।
चार्टर्ड एकाउन्टेन्ट: कति प्रयासमा उत्तीर्ण भयो, कुन फर्म, क्लाइन्टको पोर्टफोलियो कति भारी छ । लेखापरीक्षणको गुणस्तरमा प्रश्न उठाउनु कर्तव्य हो, तर त्यही प्रश्न कहिलेकाहीँ कर्तव्यबाट होइन, प्रतिद्वन्द्वीको बढ्दो नामबाट जन्मिन्छ।
इन्जिनियर: कुन आयोजना, ठेक्काको आकार, सफ्टवेयरतिर लागेको साथीको डलर, कसले भिसा पायो। सहकर्मीको आयोजना ढिलो हुँदा भित्रभित्रै एक थोपा सन्तोष लाग्नु मानवीय हो, तर त्यही विषको पहिलो थोपा हो।
निजामती कर्मचारी: सरुवा कहाँ पर्यो, बढुवाको अंकभार कति आयो, विदेश तालिमको सूचीमा कसको नाम गयो। यही तराजुबाट जन्मिन्छ फाइल अड्काउने र प्रक्रियालाई सजायमा बदल्ने संस्कृति।
राजनीतिज्ञ: सबैभन्दा तीव्र रूप, राजनीतिमा गहिरो ईर्ष्या विपक्षी दलसँग होइन, आफ्नै पार्टीको छेउको कुर्सीमा बस्नेसँग हुन्छ। टिकट, मन्त्रालय र गुटको नेतृत्व साँच्चै सीमित छ, त्यसैले यहाँ आदिम गणित अझै लागू हुन्छ।
प्राध्यापक, पत्रकार, शिक्षक, सर्जक: कसको शोधपत्र उद्धृत भयो, कसको बाइलाइन पहिलो पृष्ठमा गयो, कसको विद्यार्थीले उत्कृष्ट अंक ल्यायो, कसको सामग्री भाइरल भयो।
यी सबैलाई जोड्ने साझा धागो एउटै छ। पेशागत ईर्ष्या कहिल्यै नाङ्गो आउँदैन, सधैँ मर्यादित पोशाक लगाएर आउँछ। “गुणस्तर खस्कियो”, “अनुभव पुगेको छैन”, “प्रक्रिया मिलेन”। यी वाक्य धेरैजसो साँचो हुन्छन्। तर जब आलोचना तथ्यबाट होइन, तुलनाको घाउबाट जन्मिन्छ, त्यो आलोचना रहँदैन, हतियार बन्छ। यसको एउटा सरल परीक्षा छ। ठ्याक्कै यही काम मेरो प्रतिद्वन्द्वीले होइन, मेरो प्रिय साथीले गरेको भए पनि के म यही आपत्ति गर्थें? उत्तर “अहँ” हो भने त्यो पेशागत मापदण्ड होइन, पेशाको भाषा उधारो लिएको व्यक्तिगत ईर्ष्या हो।
भित्रैबाट खियाउने आगो
मानसिक स्वास्थ्य: निरन्तर तुलना चिन्ता र अवसाद (डिप्रेसन) को प्रमुख पूर्वसंकेत हो। तनाव हर्मोन बढ्छ, निद्रा बिग्रिन्छ, एकाग्रता घट्छ।
सम्बन्ध र समाज: ईर्ष्याले नजिकका मान्छेलाई प्रतिद्वन्द्वीमा बदल्छ। जुन समाजमा सफल हुनेमाथि पहिले शंका गरिन्छ, त्यहाँ नयाँ प्रयास गर्ने साहस मर्छ।
पेशागत क्षति: चिकित्सकले रेफर नगर्दा, वरिष्ठले जुनियरलाई नसिकाउँदा र कर्मचारीले फाइल अड्काउँदा ईर्ष्याको मूल्य सेवाग्राहीले तिर्छ। यो व्यक्तिगत कमजोरी होइन, सार्वजनिक क्षति हो।
समयको दुरुपयोग: अर्काको जीवन नियाल्न खर्चिएको हरेक घण्टा आफ्नो जीवन बनाउनबाट काटिएको घण्टा हो। ईर्ष्याले प्रतिद्वन्द्वीलाई होइन, ईर्ष्यालुलाई नै पछाडि पार्छ।
रूपान्तरण: आगोलाई चुलोमा बदल्ने विधि
नाम दिनुहोस्: “मलाई ईर्ष्या लाग्यो” भनेर मनमनै स्वीकार गर्दा भावनाको तीव्रता घट्छ। मनोविज्ञानमा यसलाई अफेक्ट लेबलिङ भनिन्छ।
संकेत पढ्नुहोस्: सबैको सफलताले पोल्दैन। जुन क्षेत्रमा पोल्छ, त्यहीँ तपाईंको गहिरो चाहना लुकेको छ। त्यो पीडा वास्तवमा तपाईंको नक्सा हो।
प्रश्न बदल्नुहोस्: “उसले किन पायो?” ले कुण्ठा दिन्छ “उसले कसरी पायो?” ले रणनीति दिन्छ।
आफ्नो तुलना समूह चिन्नुहोस्: तपाईंलाई पोल्ने मानिसहरू प्रायः तपाईंकै ब्याच, पेशा र उमेरका हुनेछन्। त्यही अदृश्य तराजु हो। देखेपछि मात्र बदल्न सकिन्छ।
कृतज्ञता र डिजिटल सीमा: हरेक रात आफ्नै जीवनका तीन ठोस कुरा लेख्नुहोस्। जुन खाता हेरेपछि आफूलाई सानो लाग्छ, त्यसलाई म्युट गर्नु कायरता होइन, स्वच्छता हो।
आत्मकरुणा: क्रिस्टिन नेफको अनुसन्धानअनुसार आफ्नो कमजोरीमाथि आफैँलाई पिट्नुभन्दा साथीलाई झैँ व्यवहार गर्दा सुधारको सम्भावना बढ्छ। आत्मआलोचना प्रेरणा होइन, पक्षाघात हो।
सबैभन्दा गहिरो सूत्र भने हाम्रै परम्परामा जन्मिएको छ। हिन्दू धर्मका विभिन्न आध्यात्मिक ग्रन्थहरूले “मुदिता” भन्ने शब्द दिएका छन, जसको अर्थ हो अर्काको सुखमा रमाउने क्षमता। यो ईर्ष्याको ठीक विपरीत अवस्था हो, र महत्त्वपूर्ण कुरा, यो जन्मजात गुण होइन, अभ्यासयोग्य सीप हो।
निष्कर्ष: आफ्नै नापको जीवन
अस्पतालको कक्षदेखि अदालतको इजलाससम्म, अडिट फर्मदेखि सिंहदरबारसम्म, ईर्ष्याले पेशा, पद र पोशाक बदल्छ, स्वभाव बदल्दैन । यसले सधैँ एउटै काम गर्छ, हाम्रो ध्यान आफ्नो कामबाट उठाएर अर्काको स्कोरबोर्डमा टाँस्छ। अनि स्कोरबोर्ड हेर्दै गर्दा खेल छुट्छ।
मूल कुरा यही हो। तपाईंको जीवन दौड होइन, निर्माण हो। दौडमा अर्काको गति महत्त्वपूर्ण हुन्छ, निर्माणमा हुँदैन। छिमेकीले तीन तले घर बनायो भन्दैमा तपाईंको जगको गहिराइ घट्दैन।
शान्ति भनेको कसैलाई जित्नु होइन, तुलनाको मैदानबाटै बाहिर निस्कनु हो।
अर्काको बारी हरियो देखिनुको कारण प्रायः उसको माटो होइन। हाम्रो आफ्नै बारीमा हामीले पानी हाल्न बिर्सेको हुन्छ।
(लेखक पेशाले चाटर्ड एकान्टेन्ट हुन । साहित्य र समाजबारे लेख्दै आएका छन्)

