नेपालगञ्ज — नेपालगञ्जमा प्रहरीले हवाइ फायर र मोटरसाइकलको टायरमा गोली प्रहार गरी ठूलो परिमाणको खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट भारत उत्तर प्रदेश, बहराइच जिल्लाको रुपैडिया क्षेत्रका २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको बाह्रपंखीबाट खैरो हेरोइन ल्याई लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गिरोहमाथि निगरानी राख्ने क्रममा असोज ६ गते राति १०ः४५ बजे राईलाई रोक्न खोजिएको थियो। तर उनी मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि मोटरसाइकलको टायरमा थप दुई राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको मोटरसाइकल UP40J0657 र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राई र बरामद सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

