म्याक्स होटलमा छापा, चार महिनाअघि नै अर्कै पक्षको व्यवस्थापनमा थियो होटल


कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित म्याक्स होटलमा प्रहरीले छापा मार्दा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा ४२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार साँझ होटलमा छापा मार्दा ४० जना भारतीय र २ जना नेपाली नागरिक पक्राउ परेका हुन्। उनीहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरलगायत विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू अनलाइन सट्टेबाजीसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव उपरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ सई रमेश बजगाईँको कमाण्डमा खटिएको टोलीले होटलमा छापा मारेको हो। छापापछि होटललाई प्रहरीले शिल गरेको जनाएको छ।

चार महिनाअघि नै अर्कै पक्षलाई भाडामा दिइएको थियो होटल

घटनापछि होटलका सञ्चालक मनोज केसीले आफूले करिब चार महिनाअघि नै होटल अर्कै पक्षलाई भाडामा दिइसकेको बताएका छन्।

केसीका अनुसार होटल भाडामा दिएपछि त्यसको दैनिक सञ्चालन तथा गतिविधि आफूले प्रत्यक्ष रूपमा हेर्दै आएका थिएनन्। होटलमा अनलाइन सट्टेबाजी भइरहेको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ।

उपलब्ध होटल बहालसम्बन्धी करार सम्झौताअनुसार होटल म्याक्स प्रालिका सञ्चालक मनोज केसी र जाकिर अली जोलाहाबीच सम्झौता भएको देखिन्छ। सम्झौता २०८३ जेठ १६ गतेदेखि २०८५ जेठ १५ गतेसम्म दुई वर्षका लागि गरिएको छ।

सम्झौतामा होटलको मासिक बहाल रकम ९५ हजार रुपैयाँ कायम गरिएको र प्रत्येक ६ महिनामा १० प्रतिशतका दरले बहाल वृद्धि हुने उल्लेख छ।

प्रहरीले होटल भाडामा लिएर सञ्चालन गरिरहेको पक्षको भूमिका तथा पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि घटनासँग सम्बन्धित थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार १०:०६  |