काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पालना नगरेको भन्दै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चार लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगरेका दुई लघुवित्तलाई नगद जरिवाना गरिएको हो।
न्यूनतम पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा कम भएपछि फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त र एनआईसी लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले जनाएको छ।
असार मसान्तमा फरवार्ड लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरी लघुवित्तको ६.३८ प्रतिशत, एनआईसी लघुवित्तको ६.३९ प्रतिशत र मातृभूमि लघुवित्तको ४.०८ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावलीअनुसार ती संस्थामाथि कारबाही गरेको हो।

त्यस्तै, अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको भन्दै वीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्तलाई नगद जरिवाना गरिएको छ।
वीन नेपाल लघुवित्तले २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेपछि पहिलो पटकका लागि ५८ रुपैयाँ ३८ पैसा जरिवाना तिरेको छ।
सञ्जीवनी लघुवित्तले भने २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको राष्ट्र बैंकले जनाएको छ। सोहीअनुसार उक्त संस्थालाई क्रमशः ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको छ।
राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको पुँजीकोष, तरलता तथा अन्य नियामकीय व्यवस्थाको नियमित सुपरिवेक्षण गर्दै आएको छ। नियामकीय मापदण्ड पूरा गर्न नसक्ने संस्थालाई सुधारका लागि शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

