बाँके । दूधको फ्याट र एसएनएफ मापन गर्ने मिल्क एनालाइजरमा चलखेल हुने गरेको आशंका बाँकेको डुडुवा–३ हलाकारापुरुवाका भैंसीपालक किसानले गरेका छन्। दूधको वास्तविक गुणस्तरभन्दा कम फ्याट र एसएनएफ देखाइँदा उचित मूल्य नपाएको उनीहरूको गुनासो छ।
हलाकारापुरुवामा पाँच सयभन्दा बढी भैंसीपालन हुने र दैनिक ठूलो परिमाणमा दूध बजारमा जाने किसानहरू बताउँछन्। दूध बिक्रीको मूल्य नै गुणस्तर परीक्षणसँग जोडिएकाले मेसिनको परिणाममा आफूहरूको चासो रहेको उनीहरूको भनाइ छ।
एक किसानले अर्थपेजसँग भने, ‘तपाईंहरू (पत्रकार) लाई पटक–पटक यो कुरा उठाउन भनेका छौँ, तर उठाउनु भएन । गाउँभरिका कृषक यसबाट पीडित छौँ।’
किसानहरूले मिल्क एनालाइजरको नियमित क्यालिब्रेसन, सरकारी प्रमाणीकरण र अनुगमन हुनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार आफूहरू प्राविधिक रूपमा जानकार नभएकाले मेसिनमा देखिएको परिणाममै भर पर्नुपर्ने अवस्था छ।

यद्यपि, मेसिनमा जानाजान चलखेल भएको हो वा प्राविधिक समस्या, त्यसको यकिनका लागि सम्बन्धित निकायबाट परीक्षण तथा छानबिन आवश्यक हुन्छ।
दूधको मूल्य निर्धारणमा फ्याट र एसएनएफ महत्वपूर्ण आधार भएकाले परीक्षण प्रणाली विश्वसनीय र पारदर्शी हुनुपर्ने किसानहरूको माग छ।

