एमालेमा सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण आवश्यक : केन्द्रीय सदस्य ढकाल


काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सूर्यप्रसाद ढकालले पार्टीको वैचारिक, संगठनात्मक तथा कार्यशैलीमा नयाँपन आवश्यक रहेको बताएका छन्।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण समर्थन जनाउँदै ढकालले एमालेले अब वैचारिक, संगठनात्मक, कार्यशैली तथा मूल्यांकन र व्यवस्थापन विधिमा नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए। कार्यकर्ता र जनताले पनि पार्टीबाट यही अपेक्षा गरेको उनको भनाइ थियो।

राष्ट्र र पार्टी संकटमा परेको अवस्थामा मूल नेतृत्वको संरक्षण गरेर अघि बढ्नुपर्ने धारणा राख्दै उनले “अध्यक्षमाथिको प्रहार भनेको एमालेमाथिको प्रहार हो र एमालेमाथिको प्रहार भनेको राष्ट्रियता, लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र जनताको जनजीविकामाथिको प्रहार हो” भन्ने विषयलाई राजनीतिक प्रतिवेदनमा थप स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने बताए।

पार्टीभित्र पछिल्लो समय एकले अर्कालाई नमान्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै ढकालले संगठनलाई अनुशासित, एकताबद्ध र प्रभावकारी बनाउन ठोस विधि आवश्यक रहेको बताए।

उनले कार्यकर्ता व्यवस्थापनको वैज्ञानिक विधि निर्माण, कमिटी प्रणालीलाई प्रभावकारी बनाउने उपाय, संगठित सदस्यको भूमिकालाई व्यवहारमै प्रभावकारी बनाउने तथा पार्टीको मूल्यांकन र व्यवस्थापन प्रणालीलाई समयअनुकूल बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, एमालेको नेतृत्वमा सरकार बनेमा पार्टीले के गर्ने भन्ने विषयमा पनि स्पष्ट कार्यदिशा आवश्यक रहेको उनको भनाइ थियो। सामाजिक सञ्जालको बढ्दो प्रभावलाई राष्ट्र र पार्टीको हितमा प्रयोग गर्न स्पष्ट रणनीति बनाउनुपर्ने उनले बताए।

“एमाले हुने तर एमालेलाई भोट नहाल्ने प्रवृत्ति देखिएको छ। यस्तो प्रवृत्तिको कारण पहिचान गरी त्यसलाई कसरी रोक्ने भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ,” ढकालले भने।

पार्टी र जनताबीचको सम्बन्धका विषयमा पनि उनले गम्भीर समीक्षा गर्नुपर्ने बताए। विगतमा एमालेले जनताका समस्या र आवाजलाई प्राथमिकताका साथ उठाउने गरेको भए पनि अहिले “जनताका कुरा होइन, हाम्रा कुरा बोलिरहेका छौं” भन्ने अवस्था देखिएको उनको भनाइ थियो।

जनताबीच ‘एमालेले जे पनि गर्छ’ भन्ने न्यारेटिभ स्थापित हुँदै गएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहार र जनमुखी काममार्फत बदल्नुपर्ने बताए।

पार्टीलाई अघि बढाउन सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण अपरिहार्य रहेको, तर त्यो प्रक्रिया नेतृत्वको रक्षा र पार्टीको एकता कायम गर्दै अघि बढाउनुपर्ने ढकालको धारणा थियो।

उनका अनुसार पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले निर्माण गरेका कार्यकर्ताले अहिले पनि एमालेलाई मत दिइरहेका छन्। तर आफूहरूबाट निर्माण भएका धेरै कार्यकर्ताले पछिल्लो निर्वाचनमा एमालेलाई मत नदिएको विषयलाई पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने उनले बताए।

१० लाख युवामाझ पुग्ने कार्यक्रम बनाउन प्रस्ताव

ढकालले एमालेको केन्द्रीय कमिटी बैठकबाटै १० लाख युवामाझ पुग्ने कार्यक्रम बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।

युवा पुस्ताले नेपाली समाज, राजनीति र देशको भविष्यलाई कसरी बुझेको छ भन्ने विषयमा पार्टीले प्रत्यक्ष संवाद गर्नुपर्ने उनको भनाइ छ।

युवामाझ पुग्दा नेपाली समाज, रोजगारी, स्वास्थ्य, शिक्षा, विकास, लोकतन्त्र, खेलकुद, पर्यटन, नेपाली राजनीति, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामन्तवाद, पुँजीवाद, समाजवाद, करियर तथा नेपालको राष्ट्रियताबारे उनीहरूको बुझाइ र दृष्टिकोण बुझ्नुपर्ने उनले बताए।

“हामीले बुझेको कुरा मात्रै युवालाई बुझाउने होइन, युवाले नेपाल, समाज, राजनीति र आफ्नो भविष्यलाई कसरी बुझेका छन् भन्ने पनि हामीले बुझ्नुपर्छ,” ढकालले भने।

उनले पार्टीलाई समयअनुकूल बनाउन विचार, संगठन, नेतृत्व, कार्यशैली, कार्यकर्ता व्यवस्थापन र जनतासँगको सम्बन्धमा पुनर्समीक्षा आवश्यक रहेको बताए।

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार २०:३६  |