बर्दिया । भारतबाट केरा आयातमा प्रतिबन्ध लागेपछि देशका विभिन्न ठाउँमा स्वदेशी केराले बजार र मूल्य पाइरहेको खबर आइरहेका बेला बर्दियाका केरा उत्पादक किसान भने ‘सिजन’मै उत्पादन बिक्री नहुने चिन्तामा परेका छन्।
बर्दियामा अहिले केराको उत्पादनको मुख्य सिजन चलिरहेको छ। तर व्यापारीहरू केरा खरिद गर्न खेतबारीसम्म नआएपछि किसानको उत्पादन बोटमै पाकेर खेर जाने अवस्था आउन सक्ने केरा उत्पादक कृषक एवं केरा व्यवसायी संघ बर्दियाका अध्यक्ष टोपलाल विकले बताउनुभयो।
“पहिले यो समयमा दैनिक ट्रकका ट्रक केरा लिन आउँथे। अहिले सुनसान छ। अबको १०–१५ दिनमा केरा बिक्री भएन भने बर्बाद हुन्छ,” विकले भन्नुभयो।
उहाँका अनुसार बर्दियाको उक्त क्षेत्रमा मात्रै करिब ७० बिघा क्षेत्रफलमा केरा खेती भइरहेको छ। यसबाट करिब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। तर उत्पादनको मुख्य समयमा व्यापारीले केरा खरिद नगर्दा किसान ठूलो समस्यामा पर्ने अवस्था आएको उहाँको भनाइ छ।
भारतबाट केरा आयातमा प्रतिबन्ध रहेको अवस्थामा समेत बर्दियाका किसानको उत्पादन खरिद गर्न व्यापारी नआउनु आफूहरूका लागि आश्चर्यको विषय भएको विकले बताउनुभयो।

“व्यापारीले नेपालकै नवलपरासी क्षेत्रको उत्पादन किनेका छौँ भन्नुभएको छ। तर मलाई आशंका छ। सस्तो र यति धेरै केरा कहाँबाट आइरहेको छ, त्यसको अनुसन्धान हुनुपर्छ,” उहाँले भन्नुभयो।
बर्दियामा उत्पादन हुने केराको मुख्य बजार गुलरिया, नेपालगन्ज, दाङ र सुर्खेतलगायतका क्षेत्र हुन्। भारतबाट आयातमा प्रतिबन्ध लागेपछि केही समय ती बजारमा केराको अभाव देखिएको र मूल्यसमेत बढेको किसानहरूको भनाइ छ।
तर अहिले बजारमा प्रतिदर्जन १०० रुपैयाँसम्ममा केरा बिक्री भइरहेको भए पनि बर्दियाका किसानको उत्पादन खरिद गर्न व्यापारी नआएको विकले बताउनुभयो।
भारतबाट आयात रोकिएको अवस्थामा स्वदेशी उत्पादनले बजार पाउनुपर्ने भए पनि आफ्नै उत्पादन बिक्री नहुँदा किसान चिन्तित छन्। केराको उत्पादन बोटमै पाक्ने भएकाले लामो समयसम्म बिक्री रोकिएमा ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरूको भनाइ छ।
किसानले उत्पादन गरेको केराको बजार सुनिश्चित गर्न सम्बन्धित निकायले बजारको अवस्थाबारे अनुगमन गर्नुपर्ने र प्रतिबन्धित अवस्थामा बाहिरबाट केरा भित्रिएको भए त्यसको समेत अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

