बर्दिया । बंगुरपालन गर्दा लागेको २५ लाख रुपैयाँ ऋणले नरेशबाबु थारुलाई निराश बनाएन । ऋणको भार हुँदाहुँदै उनले व्यवसाय परिवर्तन गर्ने निर्णय गरे र गाईपालनतर्फ लागे । अहिले त्यही निर्णय उनको आम्दानीको मुख्य आधार बनेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ मा नरेशबाबु थारुले सञ्चालन गरेको गाईफार्ममा अहिले २० वटा गाई छन् । गोठमा रहेका गाईबाट दैनिक करिब ९० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बिक्री गरेर उनले नियमित आम्दानी गरिरहेका छन् ।
बंगुरपालनका क्रममा करिब २५ लाख रुपैयाँ ऋण लागेपछि व्यवसायबाटै पलायन हुने अवस्था आउन सक्थ्यो । तर नरेशबाबुले हार मानेनन् । ऋण तिर्ने लक्ष्यसहित उनले गाईपालन सुरु गरे ।
उनको फार्म सामान्य परम्परागत गोठजस्तो छैन । आधुनिक तथा व्यवस्थित संरचनासहितको ‘हाइटेक’ शैलीको गोठ निर्माण गरिएको छ । गाईका लागि आवश्यक खानेपानी, दाना, सरसफाइ र अन्य व्यवस्थापनलाई सहज बनाइएको छ ।

फार्ममा आवश्यक व्यवस्थापन र प्रविधिको प्रयोगका कारण २० वटा गाईको हेरचाह नरेशबाबु र उनकी श्रीमतीले मात्रै सहजै गर्दै आएका छन् । ठूलो संख्यामा गाई भए पनि व्यवस्थित संरचनाका कारण श्रम र समय दुवै बचत भइरहेको उनीहरूको अनुभव छ ।
उनको फार्म हेर्न पुग्नेहरू पनि व्यवस्थापन देखेर दंग पर्छन् । आधुनिक शैलीमा गरिएको गोठ व्यवस्थापन, गाईको हेरचाह र दूध उत्पादनको नियमितताले नरेशबाबुको कृषि उद्यमलाई उदाहरणीय बनाएको छ ।
नरेशबाबुको कथा ऋण र असफलताले व्यवसाय छाड्नुपर्ने होइन, चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने उदाहरण पनि बनेको छ । बंगुरपालनबाट सुरु भएको उनको संघर्ष अहिले गाईपालन हुँदै व्यावसायिक दुग्ध उत्पादनमा पुगेको छ ।

