नेपालगन्ज । बाँकेको खजुरामा २०३५ सालतिर स्थापना भएको जयबागेश्वरी पश्चिमाञ्चल इँटा उद्योग अत्याधुनिक मेसिनसहित पुनः सञ्चालनमा आउने भएको छ।
उद्योगमा नयाँ उपकरण जडान गर्नुका साथै पुराना मेसिनको मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको छ। बाँकी काम पूरा भएपछि आगामी केही महिनाभित्रै उद्योगबाट पुनः इँटा उत्पादन सुरु गर्ने तयारी गरिएको हो।
उद्योग सञ्चालनमा आएपछि दैनिक करिब एक लाख वटा इँटा उत्पादन गर्ने लक्ष्य राखिएको छ। उद्योगले प्रत्यक्ष रूपमा करिब तीन सय जनालाई रोजगारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

पञ्चायतकालमै स्थापना भएको यो उद्योग लामो समयदेखि सञ्चालनमा नरहे पनि अहिले आधुनिक प्रविधि र उपकरण थपेर पुनः सञ्चालनको तयारी गरिएको हो। उद्योगबाट उत्पादित इँटा बाँकेसहित देशका विभिन्न जिल्लामा बिक्री वितरण गरिने जनाइएको छ।
स्थानीयस्तरमै ठूलो संख्यामा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्रीको उत्पादन बढाउन उद्योगको पुनः सञ्चालनले योगदान पुग्ने अपेक्षा गरिएको छ।


