
नेपालगन्ज । लगातार भइरहेको वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलको अस्थायी मनसुन प्रतिकार्य बेसका सुरक्षाकर्मी ‘स्ट्यान्डबाइ’ अवस्थामा छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६, कुण्डामा स्थापना गरिएको उक्त बेसमा खटिएका सुरक्षाकर्मी सम्भावित विपद्का घटनामा तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको हो।
वर्षाका कारण बाढी, डुबान तथा अन्य विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बेसले आफ्नो क्षेत्रमा जोखिम न्यूनीकरणका साथै विपद्का समयमा उद्धार तथा प्रतिकार्यका काम गर्नेछ।

सम्भावित विपद्का घटनामा स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने गरी सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

