निजी क्षेत्रका समस्या र चुनौतीबारे मुख्यमन्त्री शाहीसँग व्यवसायीको अन्तरक्रिया


 

सुर्खेत । कर्णाली प्रदेशमा निजी क्षेत्रको वर्तमान अवस्था, समस्या तथा चुनौतीका विषयमा कर्णाली प्रदेश सरकार र सुर्खेत उद्योग वाणिज्य संघबीच अन्तरक्रिया भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सुर्खेत उद्योग वाणिज्य संघबीच शुक्रबार भएको अन्तरक्रियामा प्रदेशमा उद्योग तथा व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका समस्या र चुनौती सम्बोधनका विषयमा छलफल भएको हो।

कार्यक्रममा निजी क्षेत्रले भोगिरहेका विभिन्न समस्या, उद्योग तथा व्यवसाय सञ्चालनका चुनौती, लगानी विस्तारका लागि आवश्यक वातावरण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श गरिएको थियो।

व्यवसायीहरूले कर्णालीमा उद्योग तथा व्यवसाय विस्तारका लागि नीतिगत सहजीकरण, लगानीमैत्री वातावरण र निजी क्षेत्रका समस्या समाधानमा सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए।

मुख्यमन्त्री शाहीले प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको संवाद तथा सहकार्यलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

समृद्ध कर्णाली निर्माणका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, सहकार्य र साझेदारी आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मितिः     ९ आश्विन २०८३, शुक्रबार १६:१३  |