
नेपालगन्ज । नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि यो नेपालकै अग्ला हनुमान मूर्तिमध्ये एक हुने अपेक्षा गरिएको छ। विशाल आकारको यो मूर्ति निर्माणको जिम्मेवारी सुर्खेत भेरीगंगा–८, लोदेका तिलवीर सुनार ‘सेन्चुरी’ले सम्हालिरहेका छन्।
‘सेन्चुरी मूर्तिकला उद्योग’ सञ्चालन गर्दै आएका सुनार लामो समयदेखि मूर्तिकला क्षेत्रमा सक्रिय छन्। सानै उमेरमा रोजगारीका लागि भारत पुगेका उनले त्यहीँबाट मूर्ति बनाउने सीप सिकेका हुन्। भारतमा रहँदा सिकेको सीपलाई स्वदेश फर्किएपछि व्यवसायमा परिणत गरेका उनले २०६० सालदेखि नेपालमै मूर्तिकला निर्माणको काम सुरु गरेका हुन्।
सुनारले काठमाडौं, पोखरा लगायत देशका विभिन्न स्थानमा ठूला तथा आकर्षक मूर्ति निर्माण गरिसकेका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका विभिन्न मूर्तिहरू निर्माण गर्दै आएका उनका लागि नेपालगन्जमा बनिरहेको १०८ फिट अग्लो हनुमानको मूर्ति अहिलेसम्मका ठूला काममध्ये एक हो।

विशाल आकारका मूर्ति निर्माणमा विशेष सीप र धैर्यता आवश्यक पर्ने सुनार बताउँछन्। लामो समयदेखि मूर्तिकलामा काम गर्दै आएका उनले आफ्नो सीप र अनुभव प्रयोग गर्दै नेपालगन्जको हनुमान मूर्तिलाई आकर्षक र कलात्मक स्वरूप दिने प्रयास गरिरहेका छन्।
स्थानीयस्तरमा पनि १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणले चासो बढाएको छ। मूर्ति निर्माण सम्पन्न भएपछि नेपालगन्जको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

