बुटवल । रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ खाद्य परीक्षणमा दूषित भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको चिया बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ को ब्याच नम्बर ८३.D.०५ फिर्ता गर्न निर्देशन दिइएको हो।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशाला परीक्षण गर्दा दूषित देखिएपछि विभागले सोही ब्याचका सबै चिया तत्काल बजारबाट फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम रिकल आदेश जारी गरिएको विभागले जनाएको छ। साथै उक्त ब्याचको चिया बिक्री तथा वितरण नगर्न/नगराउन समेत निर्देशन दिइएको छ।
विभागका अनुसार उक्त चियाको उत्पादन मिति जुलाई २०२६ हो र उत्पादन मितिदेखि १८ महिनाको उपभोग्य अवधि तोकिएको छ। मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विभागले बजारमा उपलब्ध उक्त ब्याचको चिया फिर्ता लिन आग्रह गरेको छ।

