नेपालगन्ज । ‘हनी ट्रयाप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।
प्रहरीका अनुसार श्रेष्ठले २०८१ सालदेखि बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजना बनाएर प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्। त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की देखाएर पटक–पटक नगद तथा जिन्सी सामान लिई ब्ल्याकमेलिङ गरेको आरोप छ।

हनी ट्रयापमा संलग्न रहेको आरोपमा फरार रहेकी श्रेष्ठलाई असोज ५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

