समृद्ध बाँकेका लागि के गर्नुपर्छ ?- चिरञ्जीवी ओलीसँग अन्तरवार्ता


 

प्रश्न : बाँकेको आर्थिक विकासका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता के देख्नुहुन्छ ?

चिरञ्जीवी ओली : बाँकेको आर्थिक विकासका लागि अब स्पष्ट प्राथमिकता र दीर्घकालीन योजना आवश्यक छ। उद्योग, पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्छाै । यी क्षेत्रसँगै शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारको विकासलाई पनि जोड्नुपर्छ। बाँकेको सम्भावना धेरै छ, तर त्यसअनुसार योजना बनाएर कार्यान्वयन गर्ने विषयमा अझै ध्यान दिन आवश्यक छ।

प्रश्न : बाँकेमा उद्योग र व्यवसायको विस्तार अपेक्षाअनुसार हुन नसक्नुको मुख्य कारण के हो ?

ओली : लगानीको वातावरण सहज हुन नसक्नु एउटा प्रमुख कारण हो। उद्योगी–व्यवसायी लगानी गर्न तयार छन्, तर लगानीका लागि जग्गा, विद्युत्, सडक, कर, प्रशासनिक प्रक्रिया र सुरक्षालगायत विषयमा सहज वातावरण आवश्यक हुन्छ। राज्यले उद्योगमैत्री नीति र कानुनी व्यवस्था बनाउनुपर्छ। तीनै तहका सरकारबीच राम्रो समन्वय भयो भने उद्योग तथा व्यवसाय विस्तारका लागि वातावरण बनाउन सकिन्छ।

प्रश्न : बाँकेमा उद्योग स्थापनाको सम्भावना कस्तो छ ?

ओली : बाँकेको भौगोलिक अवस्थिति नै उद्योगका लागि महत्वपूर्ण सम्भावना हो। नेपाल–भारत सीमा नाका, बजार, यातायात र उपलब्ध जनशक्तिका कारण यहाँ उद्योगको राम्रो सम्भावना छ। कृषि उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, जडीबुटी, निर्माण सामग्री तथा सीमापार व्यापारसँग जोडिएका उद्योगलाई प्राथमिकता दिन सकिन्छ। तर उद्योग खोल्न चाहने लगानीकर्तालाई आवश्यक पूर्वाधार र नीतिगत सहजीकरण राज्यले गर्नुपर्छ। उद्योग बढेपछि रोजगारी पनि सिर्जना हुन्छ र स्थानीय अर्थतन्त्र चलायमान हुन्छ।

प्रश्न : कृषि बाँकेको अर्थतन्त्रको महत्वपूर्ण आधार हो। कृषिलाई व्यवसायीकरण गर्न के गर्नुपर्छ ?

ओली : कृषि उत्पादन मात्र गरेर हुँदैन, त्यसको बजार सुनिश्चित हुनुपर्छ। उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणलाई एउटै प्रणालीमा जोड्न आवश्यक छ। किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउने वातावरण बनाउनुपर्छ। कृषि र उद्योगलाई जोडेर स्थानीय उत्पादनमै आधारित प्रशोधन उद्योग स्थापना गर्न सके किसान र उद्योग दुवैलाई फाइदा हुन्छ।

प्रश्न : पर्यटनलाई बाँकेको आर्थिक विकाससँग कसरी जोड्न सकिन्छ ?

ओली : नेपालगन्ज पश्चिम नेपालको प्रवेशद्वार हो। धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको सम्भावना यहाँ छ। तर नेपालगन्जलाई केवल आउने–जाने ठाउँका रूपमा सीमित राख्नु हुँदैन। पर्यटकलाई केही दिन रोक्न सक्ने पर्यटन प्याकेज र पूर्वाधार विकास गर्नुपर्छ। होटल, यातायात, खानपान, स्थानीय संस्कृति र पर्यटकीय स्थललाई जोडेर पर्यटन व्यवसाय विस्तार गर्न सकिन्छ। महत्त्वपूर्ण कुरा त बाँके राष्ट्रिय निकुञ्ज नै हाे- याे बाँकेकाे ठूलो सम्पत्ति हाे । हामीले यसकाे ब्राण्डिङ गर्न जरुरी छ । देश बिश्वभर चिनाउनुछ ।

प्रश्न : कुनै समय मध्य र सुदूरपश्चिमका धेरै जिल्लाका विद्यार्थी उच्च शिक्षाका लागि नेपालगन्ज आउँथे। अहिले त्यो भूमिका केही ओझेलमा परेको देखिन्छ। यसलाई कसरी फर्काउन सकिन्छ ?

ओली : यो विषयमा गम्भीर भएर सोच्नुपर्छ। कुनै समय नेपालगन्ज पश्चिम नेपालको प्रमुख शैक्षिक केन्द्र थियो। महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज मेडिकल कलेजलगायत संस्थाले शिक्षा क्षेत्रमा योगदान गरेका छन्। अब बाँकेमा आवश्यकतामा आधारित उच्च शिक्षा विस्तार गर्नुपर्छ। विशेषगरी प्राविधिक शिक्षामा केन्द्रित विश्वविद्यालय वा उच्च शिक्षाको संस्था स्थापना गर्न सके बाँकेको पुरानो शैक्षिक पहिचानलाई थप बलियो बनाउन सकिन्छ।

प्रश्न : यस्तो शैक्षिक संस्थाले विद्यार्थीलाई विदेश जानबाट रोक्न कस्तो भूमिका खेल्न सक्छ ?

ओली : विद्यार्थीलाई विदेश जानबाट रोक्ने कुरा मात्र होइन, उनीहरूले नेपालमै गुणस्तरीय र रोजगारमुखी शिक्षा पाउने वातावरण बनाउनुपर्छ। बजारको आवश्यकता र रोजगारीसँग जोडिएका प्राविधिक तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्छ। शिक्षा गुणस्तरीय र व्यवहारिक भयो भने विद्यार्थी र अभिभावकले स्वदेशमै अध्ययन गर्ने विकल्प रोज्न सक्छन्।

प्रश्न : स्वास्थ्य क्षेत्रमा बाँकेको सम्भावनालाई कसरी हेर्नुभएको छ ?

ओली : स्वास्थ्य सेवा पनि बाँकेको महत्वपूर्ण आधार हो। भेरी अस्पतालले लामो समयदेखि पश्चिम नेपालका नागरिकलाई सेवा दिँदै आएको छ। यसलाई अझै विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्नुपर्छ। साथै शिक्षण अस्पतालका रूपमा विकास गर्न सके स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा पनि ठूलो योगदान पुग्छ।

प्रश्न : खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई थप प्रभावकारी बनाउन के गर्नुपर्छ ?

ओली : क्यान्सर उपचारका लागि पश्चिम नेपालका नागरिकले ठूलो दूरी तय गर्नुपर्ने अवस्था छ। त्यसैले खजुराको क्यान्सर अस्पताललाई आवश्यक विशेषज्ञ जनशक्ति, उपकरण र पूर्वाधारसहित पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ। चितवन पश्चिमका नागरिकका लागि यो महत्वपूर्ण विशिष्टीकृत स्वास्थ्य केन्द्र बन्न सक्छ।

प्रश्न : बाँकेको समग्र विकासमा पूर्वाधार कति महत्वपूर्ण छ ?

ओली : पूर्वाधार आर्थिक विकासको आधार हो। सडक, विद्युत्, खानेपानी, विमानस्थल, भन्सार, सीमा नाका र औद्योगिक पूर्वाधारलाई व्यवस्थित बनाउन आवश्यक छ। नेपालगन्जको व्यापारिक सम्भावनालाई भारत र पश्चिम नेपालका अन्य जिल्लासँग जोड्ने गरी पूर्वाधार विकास गर्नुपर्छ। पूर्वाधार राम्रो भए मात्र उद्योग, व्यापार र पर्यटनमा निजी लगानी बढ्न सक्छ।

प्रश्न : समृद्ध बाँके निर्माणमा निजी क्षेत्रको भूमिका के हुन्छ ?

ओली : निजी क्षेत्रको मुख्य भूमिका लगानी गर्ने, उद्योग–व्यवसाय सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने हो। तर निजी क्षेत्रले लगानी गर्ने वातावरण राज्यले बनाउनुपर्छ। लगानीकर्ताले आफ्नो लगानी सुरक्षित छ र व्यवसाय सञ्चालन गर्न अनावश्यक झन्झट हुँदैन भन्ने विश्वास गर्न सक्नुपर्छ। त्यसका लागि नीति, नियम र कानुनी व्यवस्था लगानीमैत्री हुन आवश्यक छ।

प्रश्न : तीन तहका सरकारबाट बाँकेले कस्तो भूमिका अपेक्षा गर्न सक्छ ?

ओली : संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अत्यन्त आवश्यक छ। बाँकेको आवश्यकता पहिचान गरेर दीर्घकालीन योजना बनाउनुपर्छ र सुरु भएका योजनालाई सरकार परिवर्तनसँगै रोक्ने वा बदल्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। विकासका योजना व्यक्ति वा राजनीतिक स्वार्थभन्दा माथि उठेर जिल्लाको आवश्यकता र सम्भावनाका आधारमा तय गर्नुपर्छ।

प्रश्न : नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नोतर्फबाट के गर्न सक्छ ?

ओली : उद्योगी–व्यवसायीका समस्या उठाउनु संघको पहिलो जिम्मेवारी हो। त्यससँगै बाँकेको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय गर्ने काम पनि संघले गर्नुपर्छ। उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल र सहकार्य आवश्यक छ। संघले निजी क्षेत्रको आवाज सरकारसम्म पुर्‍याउने र सरकारका नीति तथा कार्यक्रमबारे व्यवसायीलाई जानकारी गराउने कामलाई पनि प्रभावकारी बनाउनुपर्छ।

प्रश्न : अन्त्यमा, समृद्ध बाँके बनाउन कसले के गर्नुपर्छ ?

ओली : समृद्ध बाँके कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासले मात्र सम्भव हुँदैन। उद्योगी–व्यवसायीले लगानी गर्नुपर्छ, किसानले उत्पादनलाई व्यवसायसँग जोड्नुपर्छ, नागरिक समाजले सकारात्मक वातावरण बनाउनुपर्छ र सरकारले आवश्यक नीति, पूर्वाधार तथा सुरक्षा दिनुपर्छ। तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य भयो भने बाँकेको सम्भावनालाई वास्तविक आर्थिक विकासमा रूपान्तरण गर्न सकिन्छ। अब बाँकेले प्राथमिकता पहिचान गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने समय आएको छ।

प्रकाशित मितिः     १२ आश्विन २०८३, सोमबार १३:२२  |