
नेपालगञ्ज । दसैँ नजिकिँदै जाँदा नेपालगञ्जको अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण र माग बढ्दै गएको व्यवसायीहरू बताउँछन्। तर बढ्दो मागअनुसार सवारीसाधनको आपूर्ति भने सहज नहुने अवस्था देखिएको छ।
अटोमोबाइल क्षेत्रमा १६ वर्षको अनुभव रहेका स्वस्तिका अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक निरञ्जन राजभण्डारीका अनुसार दसैँमा गाडी खरिद गर्ने ग्राहकले मूल्य, ब्रान्ड र मोडलसँगै गाडी खरिदपछिको सेवा–सुविधालाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।
हाल किया, लिप मोटर र जेएसडब्ल्यू एमजीका गाडीको बिक्री, सर्भिस तथा स्पेयर पार्ट्ससम्बन्धी सेवा दिँदै आएका राजभण्डारीका अनुसार गाडी किन्दा ईभी वा पेट्रोलमध्ये कुन रोज्ने, कुन ब्रान्ड र मोडल उपयुक्त हुन्छ भन्ने विषयसँगै बीमा, सर्भिस सेन्टर, स्पेयर पार्ट्सको उपलब्धता र प्राविधिक सहयोगबारे पनि जानकारी लिनुपर्छ।
“गाडी किन्दा गाडी मात्र हेर्नु हुँदैन, गाडी किनेपछिको जीवन पनि हेर्नुपर्छ,” राजभण्डारी भन्छन्, “भोलि समस्या आउँदा बीमा सुविधा कहाँ पाइन्छ, सर्भिस सेन्टर कहाँ छन्, स्पेयर पार्ट्स सहजै पाइन्छन् कि पाइँदैनन् र प्राविधिक सहयोग कति छिटो पाइन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।”
उनका अनुसार आयातकर्ता तथा डिलरको बिक्रीपछिको सेवा र सेवा सञ्जाल पनि गाडी खरिद गर्नुअघि बुझ्नुपर्छ। महँगो तथा आधुनिक प्रविधियुक्त गाडी भए पनि प्रयोगका क्रममा समस्या आउन सक्ने भएकाले बिक्रीपछिको सेवा प्रणाली बलियो हुनु आवश्यक रहेको उनी बताउँछन्।

विशेषगरी देशका विभिन्न ठाउँमा गाडी चलाउने ग्राहकले आफ्नो क्षेत्रमा सम्बन्धित ब्रान्डको सर्भिस नेटवर्क, आवश्यक पार्टपुर्जा र प्राविधिक जनशक्तिको उपलब्धताबारे बुझेर मात्र निर्णय लिनुपर्ने उनको सुझाव छ।
“ब्रान्डभन्दा अगाडि सर्भिस हेर्नुस्, गाडीभन्दा अगाडि त्यसको पछाडिको सर्भिस सपोर्ट हेर्नुस्,” राजभण्डारी भन्छन्।
दसैँलाई लक्षित गर्दै विभिन्न ब्रान्ड तथा डिलरहरूले नयाँ मोडल, अफर र योजनाहरू सार्वजनिक गरिरहेका छन्। यस्तो अवस्थामा ग्राहकले तत्कालको आकर्षणभन्दा दीर्घकालीन सुविधा, मर्मत खर्च र सेवा उपलब्धतालाई समेत ध्यान दिएर गाडी छनोट गर्नुपर्ने राजभण्डारीको सुझाव छ।
गाडी खरिद सुविधा र खुसीसँग जोडिएको विषय भएकाले क्षणिक आकर्षणभन्दा भविष्यमा सहज रूपमा प्रयोग गर्न सकिने सवारीसाधन छनोट गर्नुपर्ने उनको भनाइ छ। “गाडी राम्रो हुनु महत्त्वपूर्ण छ, तर गाडी किनेपछि साथ दिने सिस्टम राम्रो हुनु झनै महत्त्वपूर्ण छ,” उनी भन्छन्।

