एमाले बाँकेद्वारा राहत रकममा अनियमितताको आशंका, संसदीय छानबिन माग


 

नेपालगञ्ज, असोज १५। नेकपा (एमाले) बाँकेले भदौ १० गतेको बाढी तथा डुबानबाट प्रभावितका लागि संकलित राहत रकममा अनियमितता भएको आशंका गर्दै संसदीय छानबिन समिति गठनको माग गरेको छ।

एमाले बाँकेले जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउँदै राहत रकमको संकलन, व्यवस्थापन, वितरण र खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेको हो।

ज्ञापनपत्रमा स्वदेश तथा विदेशबाट प्रधानमन्त्री राहत कोषलगायत विभिन्न माध्यममार्फत ठूलो रकम सहयोग प्राप्त भए पनि बाढीपीडित, मृतकका परिवार र विस्थापितले अपेक्षित राहत तथा किरिया खर्चसमेत नपाएको दाबी गरिएको छ।

एमालेले राहतका नाममा प्राप्त कुल रकम, खर्च भएको रकम र बाँकी रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न माग गरेको छ। साथै राहत रकमको सम्भावित अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न प्रतिनिधिसभाअन्तर्गत संसदीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा एमाले बाँकेका उपसचिव किशोर थापाले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र बुझाउन नेकपा (एमाले) बाँकेका नेताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

प्रकाशित मितिः     १५ आश्विन २०८३, बिहीबार १२:०९  |