
नेपालगञ्ज । बाँकेका होटललाई ‘सेल्टर’का रूपमा प्रयोग गरेर अपराध भइरहेकाे पछिल्लो एक साताभित्र भएका दुई घटनाले देखाएका छन्। नेपालगञ्ज र कोहलपुरका होटलबाट लागुऔषध र अनलाइन जुवा–सट्टाबाजीसँग जोडिएका भारतीय नागरिक पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित डायमण्ड होटलबाट प्रहरीले ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, बहराइचका २१ वर्षीय रिजवान अहमद इदरीशी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन्। उनीहरूको साथबाट ८०८ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको स्कुटर र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
त्यसको केही दिनमै कोहलपुर नगरपालिका–११ न्युरोडस्थित हाेटल म्याक्सबाट अनलाइन जुवा तथा सट्टाबाजीमा संलग्न रहेको आरोपमा ४८ जना पक्राउ परे। पक्राउ पर्नेमा ४६ भारतीय र २ नेपाली नागरिक छन्।

प्रहरीका अनुसार होटलबाट २८ थान ल्यापटप, ८९ थान मोबाइल र १६ थान नोटबुक बरामद भएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ।
पछिल्लो एक साताका यी दुई घटनाले होटलमा बस्ने वा कार्यक्रम सञ्चालन गर्ने व्यक्तिको पहिचान, गतिविधि र निगरानीको प्रश्न पनि उठाएको छ। होटल व्यवसायीका लागि ग्राहकको गोपनीयता र व्यवसायिक अधिकार महत्वपूर्ण भए पनि अपराधजन्य गतिविधि रोक्न आवश्यक सुरक्षा तथा अभिलेख प्रणाली प्रभावकारी हुनुपर्ने देखिन्छ।

