ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ।

सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ। बैंकका अनुसार समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। बैंकको सञ्चालन मुनाफा भने ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकको निरन्तर सहयोगले बैंकले दुई दशकको यात्रा पूरा गर्न सफल भएको बताए। उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंकले ग्राहकलाई सहज तथा आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङमा थप लगानी गर्ने जनाएको छ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

ग्लोबल आइएमई बैंकले आफूलाई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा प्रस्तुत गर्दै आएको छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा कर्मचारीको एक दिनको तलबसमेत गरी ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

सभामा नियमनकारी निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो।

प्रकाशित मितिः     १६ आश्विन २०८३, शुक्रबार १९:२१  |