स्थानीय सरकारको स्वामित्वमा रुकुम पश्चिमको स्यार्पु हाइड्रोले थाल्यो विद्युत् उत्पादन


रुकुम पश्चिम। स्थानीय सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको स्यार्पु हाइड्रो कम्पनी लिमिटेडले ३.३ मेगावाट क्षमताको विद्युत् उत्पादन सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको त्यस क्षेत्रका पूर्व सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्।

कम्पनीले विद्युत् उत्पादन सुरु गरेसँगै स्थानीय तहको लगानीमा सञ्चालित जलविद्युत् आयोजना सञ्चालनमा आएको हो। आयोजना निर्माण सम्पन्न गरी ग्रिडमा जोडिएकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप ओलीसहित निर्माण तथा व्यवस्थापनमा संलग्न सबैलाई शर्माले बधाई तथा धन्यवाद दिएका छन्।

स्थानीय तहलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयबाट कम्पनी स्थापना गरिएको हो। कम्पनीमा संघीय अर्थ मन्त्रालयको समेत शेयर लगानी रहेको छ।

शर्माका अनुसार स्थानीय तहलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउने तथा स्थानीय प्राकृतिक स्रोतको उपयोगमार्फत आर्थिक विकास गर्ने उद्देश्यले स्यार्पु हाइड्रोको अवधारणा अघि बढाइएको हो।

स्थानीय तहमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उपयोग गर्दै यस्ता उत्पादनमूलक परियोजना सञ्चालन गर्न सके स्थानीय सरकारको आर्थिक क्षमता बढ्नुका साथै राष्ट्र निर्माणमा समेत योगदान पुग्ने उनको भनाइ छ।

शर्माले आफूले स्थानीय तहको निर्वाचनलगत्तै यस्तो परियोजनाको परिकल्पना गरेको उल्लेख गर्दै विभिन्न प्रक्रियागत झन्झट पार गरेर आयोजना निर्माण सम्पन्न भई ग्रिडमा जोडिनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

आयोजना निर्माणका लागि पालिकाहरूको ग्यारेन्टीमा राष्ट्रिय वाणिज्य बैंकले ऋण उपलब्ध गराएको छ। स्थानीय सरकारको ग्यारेन्टी, बैंकको ऋण लगानी र स्थानीय प्राकृतिक स्रोतको उपयोगबाट आयोजना निर्माण सम्पन्न हुनु स्थानीय सरकार र बैंकबीचको नयाँ साझेदारीको अभ्यासका रूपमा समेत हेरिएको छ।

शर्माले बैंकमा रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुका साथै स्थानीय सरकार र बैंकबीचको यस्तो साझेदारीले स्थानीय तहको आर्थिक विकासका लागि नयाँ अभ्यास स्थापित गर्न सक्ने बताएका छन्।

स्यार्पु हाइड्रोबाट प्राप्त हुने आम्दानीले रुकुम पश्चिमका स्थानीय तहको आर्थिक क्षमता वृद्धि गर्नुका साथै स्थानीय विकास, रोजगारी र जनताको आर्थिक लाभमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     १६ आश्विन २०८३, शुक्रबार १८:४५  |